काठमाडौ । भारतको ओडीशा राज्यस्थित प्रतिष्ठित शिक्षण संस्था कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणमा भारतीय प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।
प्रकृतिको मृत्यु आत्महत्या वा हत्या भन्ने विषयमा अझै स्पष्टता नआइसकेको भए पनि अनुसन्धानका क्रममा प्रहरीको ध्यान मुख्यतः आत्महत्या दुरुत्साहनको दिशामा केन्द्रित छ ।
प्रकृति लम्सालका सहपाठी आद्विक श्रीवास्तवलाई प्रहरीले आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरी न्यायिक हिरासतमा राखेको छ । भुवनेश्वर प्रहरी कमिसनरको सचिवालयका अनुसार श्रीवास्तवलाई पक्राउ गरेपछि उनको मोबाइल जफत गरिएको छ, जसबाट थप प्रमाण सङ्कलन गर्ने प्रयास भइरहेको छ। साथै, अनुसन्धानका लागि मृतक प्रकृति लम्सालको मोबाइल र ल्यापटप पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार आफ्नै होस्टेलको कोठामा शङ्कास्पद अवस्थामा मृत फेला परेकी प्रकृतिको घटनाले नेपाली विद्यार्थी समुदायमा त्रास र असहजता पैदा गरेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा घटनाको पछाडि मानसिक दबाब, व्यक्तिगत सम्बन्ध वा अन्य कुनै अव्यक्त कारणहरू हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले श्रीवास्तवसँग गहिरो सोधपुछ गर्दै अन्य सम्भावित कारणहरूको अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनापछि अनुसन्धानलाई अझ व्यापक बनाउँदै प्रहरीले किट इन्स्टिच्युटमा रहेका नेपाली विद्यार्थीहरूमाथि हिंसा तथा कुटपिटमा संलग्न दुई जना सुरक्षा गार्डलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बेहेरा रहेका छन् । उनीहरूलाई प्रहरी हिरासतमा राखेर सोधपुछ भइरहेको छ ।
घटनासँगै किट इन्स्टिच्युटका सुरक्षा व्यवस्थामाथि प्रश्न उठिरहेको छ । नेपाली विद्यार्थीहरूलाई कलेज प्रशासनले जबरजस्ती बाहिर निकाल्दा सुरक्षा गार्डहरूले उनीहरूमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भइसकेको छ । घटनाले शिक्षण संस्थाको सुरक्षा प्रणालीमा गम्भीर त्रुटि रहेको देखाएको छ ।
भारतीय प्रहरी प्रशासनले नेपाली विद्यार्थीहरूको सुरक्षामा प्रतिबद्ध रहेको जनाएको छ । काठमाडौँस्थित भारतीय दूतावासले घटनाबारे चासो राख्दै भुवनेश्वर प्रहरी कमिसनरको विज्ञप्ति सार्वजनिक गरेको छ । भारतीय अधिकारीहरूले यस घटनामा गम्भीरता अपनाउने प्रतिबद्धता जनाए पनि नेपाली समुदायमा घटनाको निष्पक्ष अनुसन्धान र न्याय सुनिश्चित हुनेमा आशङ्का कायमै छ ।
घटनाको गम्भीरता हेर्दा नेपाल सरकारले पनि विद्यार्थीहरूको सुरक्षाका लागि पहल गर्नुपर्ने माग उठ्न थालेको छ । नेपाली विदेश अध्ययनका क्रममा हुने सम्भावित जोखिमलाई कम गर्न नेपाल सरकार, भारतीय दूतावास, र सम्बन्धित संस्थाहरूबिच समन्वय आवश्यक देखिन्छ ।
प्रहरी प्रशासनले घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ, तर नेपाली विद्यार्थीहरू र अभिभावकहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
