पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोह तनावपूर्ण बन्यो, जब हाइड्रोजन ग्यासले भरिएको बलुन विस्फोट भएर उच्च पदस्थ व्यक्तिहरू घाइते भए। घटनामा संलग्न भएको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय बैदामका अनुसार भारतका ४१ वर्षीय कमलेस कुमारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। गत फागुन ३ गते उद्घाटन समारोहका लागि हाइड्रोजन ग्यास भरिएको बलुन मञ्चमा ल्याइएको थियो। ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट झरेको झिल्कोले बलुन विस्फोट भएको थियो।
विस्फोटका कारण अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। अर्थमन्त्री पौडेल कीर्तिपुर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् भने मेयर आचार्यको उपचार अझै जारी रहेको छ।
प्रहरीले कमलेस कुमारसँग हाइड्रोजन उत्पादनदेखि बलुनमा भर्ने प्रक्रिया, त्यसको सुरक्षागत उपाय र कानुनी पक्षबारे अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूसँग पनि बयान लिइसकेको प्रहरीले जनाएको छ।
यस घटनापछि गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन्। समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन बुझाउने निर्देशन दिइएको छ। साथै, आगामी दिनमा हाइड्रोजन ग्यास प्रयोगका लागि आवश्यक नियमनका उपायहरू तय गर्नसमेत समितिलाई जिम्मेवारी दिइएको छ।
यो घटनाले ठूलो सुरक्षा त्रुटि उजागर गरेको भन्दै सम्बन्धित निकायमाथि प्रश्न उठिरहेको छ। अब हाइड्रोजन ग्यासको प्रयोग र त्यसको नियमनमा कस्तो सुधार आउँछ भन्ने विषयमा चासो बढेको छ।
