• Sunday 1st of November 2026

केपीजी कहिल्यै गणतन्त्रवादी होईनन्, माओवादीले आँधीहुरी ल्याएपछि मान्दिएका मात्रै हुन्ः प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कहिल्यै पनि गणतन्त्रवादी नरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) हुलाकी मार्गकेन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मोरङको कानेपोखरीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पहिलेदेखि नै गणतन्त्र विरोधी रहेको कारण ओलीलगायतले संविधान संशोधना र संसद् विघटनको तरिकाबाट व्यवस्था उल्ट्याउने दुस्साहस गरिरहेको बताएका हुन् ।

‘केपीजी त नेपालमा गणतन्त्र आउनु र बयल गाडा चढेर अमेरिक पुग्नु एउटै हो भन्ने नेता हो ।त्यसकारण उहाँ कहिल्यै गणतन्त्रवादी होइन । तर उहाँले भनेको के हो भने–माओवादीले आँधीहुरी लिइर आयो, नमान्दाखेरी हामी त्यसैमा…, त्यसो भएको हुनाले मान्दिएको मात्रै हो । यही हो, अहिले माओवादी अलिकति कमजोर भएको देखेपछि उहाँहरु कहिले संविधान संशोधनको नाममा, कहिले सदन विघटनाको तरिकाद्वारा, कहिले कुनै तरिकाद्वारा यसलाई उल्ट्याउने दुस्साहस गरिनै राख्नु भएको छ,’– उनले भने ।

एमालेले जहाँ पाना पल्टाएपनि संविधानमा माओवादी नै माओवादी देखेपछि यसलाई उल्ट्याउने कोशिस गरिरहेको प्रचण्डको आरोप छ । उनले एमालेलगायत सत्तामा रहेकाहरुले अहिलेको संविधान उल्ट्याउन चाहेको बताए । तर, माओवादीले भने जनतालाई अधिकार अझै पुगेन भनिरहेको प्रचण्डको भनाइ छ । ‘प्रस्तावनामा हेर्यो, समाजवाद उन्मुख राज्य हुने छ भनिएको छ, सुरुमै हेर्यो हामी सार्वभौम नेपाली जनता आफ्नो मताधिकारको प्रयोग गरेर, आफ्नो प्रतिनिधिमार्फत यो संविधान जारी गरेका छौं, भनेर जनतालाई सार्वभौम बनाएको छ । मौलिक अधिकार आदि इत्यादि सबै । त्यसकारण अहिले एउटा ठूलो संघर्षको स्थिति बनेको छ । उहाँहरु चाहीँ उल्ट्याउन चाहने, हामी अझ पुगेन भन्नेवाला परियो ।’

आजको समयमा माओवादी केन्द्रबाहेक कसैले यो देशको राजनीतिक परिवर्तनको रक्षा गर्न नसक्ने, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको हक अधिकारको रक्षा गर्न नसक्ने उनको दाबी छ । माओवादीले जनताको बीचमा आत्मालोचनासहित गएपछि जनताले विश्वास गर्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए । माअ‍ोवादी जहिले पनि मजदुर किसान, उत्पीडित वर्ग, समुदायको पक्षमा रहेको प्रचण्डले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖