काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन् ।
मंगलबार उर्जा जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्काले पदबाट किन नहटाउने भन्दै २४ घण्टे स्प्रष्टीकरण सोधेका थिए । सो प्रष्टीकरणको जवाफ दिँदै घिसिङले विभागीय मन्त्री र मन्त्रालयले आफूलाई प्रष्टीकरण सोध्ने र पदबाट हटाउन नसक्ने जवाफ पेश गरेका छन् ।
‘म नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ साउन २५ को निर्णयानुसार नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा १७ (१) अनुसार ४ वर्षको लागि नियुक्त भएको हुँ’, उनले मन्त्रालयलाई भनेका छन्, ‘निवेदकलाई सेवाबाट हटाउनेबारे स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार कानुन व्याख्यासम्बन्धी ऐन २०१० को दफ १६, नेपाल सरकारको कार्यसञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची १ को क्र.सं. ३३) र नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सवा शर्त तथा सुविधासम्बन्धी विनियमावली २०६१ को विनियम २४ अनुसार मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्छु।’
