• Saturday 31st of October 2026

देउवालाई माधवको चेतावनी: स्वर्ग जान्छु भनेर मक्ख नपर्नुस् नर्क पुर्‍याइदेलान’


  • धनकुटा खबर
  • .

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास नगर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। शुक्रवार जनता समाजवादी पार्टी(जसपा) नेपालले आयोजना गरेको भूमि सम्बन्धी अध्यादेशमाथिको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

‘संविधान संशोधन गर्ने नाउमा एउटा अर्को गठबन्धन ल्याइयो। अब त संशोधन होला भनेको फेरि ०८७मा कुरा आयो। ०८७ सम्म यही प्रधानमन्त्री बस्ने हो कि?,’ अध्यक्ष नेपालले भने, ‘होसियार है शेरबहादुर जी तपाई खुबै विश्वास गर्नुहुन्छ । फेरि सँगै स्वर्ग जाउला भनेर मक्ख परेर बस्नुभएको होला, नर्क पुर्‍याइदेला। होस् गर्नुस्।’

आफूले यसो भन्दा कुनै पूर्वाग्रह नराखेको नेपालले दाबी गरे। ‘मैले बोल्यो कि कसै कसैलाई पोल्यो भइहाल्छ। माधव नेपाल पक्कै फलानालाई भनेको हो भन्ने होला। म फलानाको नाम पनि लिन्न,’ अध्यक्ष नेपालले भने।

सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशमा शङ्काको लाभ पनि दिन सक्ने अवस्था नरहेको अध्यक्ष नेपालले बताए। सरकार बनाउँदा खेरी नै आशङ्का जन्मिने गरी गतिविधि भएको उनले दाबी गरे।

‘त्यो राति उहाँ(प्रधानमन्त्री ओली) नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड(पुष्पकमल दाहाल)जीलाई भन्दै हुनुहुन्थ्यो–तपाईँ र म यो जिन्दगी रहुन्जेलसम्म सँगसँगै जाने हो, स्वर्ग पनि सँगै जाने, नर्क पनि सँगै जाने। तपाईँ र हाम्रो साथ कहिल्यै छुट्दैन, टुट्दैन,’ उनले भने, ‘प्रचण्ड जी पनि मक्ख पर्नुभयो, कस्तो मित्र पाएछु। सँगै स्वर्ग जाने सँगै परिहाल्यो भने नर्क जाने।’

त्यो दिन दाहाल आनन्दले राति सुतेको अध्यक्ष नेपालले बताए। ‘दुई रातदेखि निद्रा लाग्या थिएन, के भइरहेछ ? गुपचुप भेटघाट चलिरहे छकी भनेर। कहाँ हुनु वाइह्यात हल्ला हो, ढुक्क हुनुस् भनेर सुतेको त बिहान नर्क पो पुगिएछ। अर्को त स्वर्ग गइसकेका थिए,’ उनले भने।

यस्तो पृष्ठभूमि भएका मान्छेले ल्याएका कुरा शङ्काको घेरामा हुने उनले बताए। -नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖