काठमाडौँ – कुलमान घिसिङलाई हटाउन न्वानदेखिको बल लगाएका उर्जा मन्त्री दिपक खड्कालाई बर्खास्त गर्न दवाव परेको छ । व्यापारी पृष्ठभूमीका खड्काको राज्यलाई ठग्ने, राज्यस्रोत हडप्ने र दोहन गर्ने चरित्रका कारण बदनाम बनेको भन्दै तत्काल बर्खास्त गर्न काग्रेसका नेताहरु प्रधानमन्त्री ओलीमाथि दवाव बढाएका छन् । खड्काले मन्त्री बन्नअघि कुलमानले गैरकानुनी तवरबाट आएको हाइड्रोको पिपिए पास नगरिदिएको झोक पोखेको उनीहरुको आरोप छ ।
राज्यका संस्थाहरु जब कुनै व्यक्तिका निजी स्वार्थको टकरावमा पिसिन थाल्छन्, त्यो राज्य नै पंगु बन्न पुग्दछ । अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको लडाइँले सिंगो राज्ययन्त्रको प्राथमिकता, प्रभावकारिता र प्रतिष्ठा नै दाउमा परेको छ ।
ऊर्जामन्त्री खड्का आफैमा एक व्यापारी हुन् । उनले व्यापार व्यवसायका नाममा कुनै प्रतिष्ठादायक काम गरेका छैनन् ।राज्यलाई ठग्ने, राज्यस्रोत हडप्ने र दोहन गर्ने चरित्रका कारण उनी पहिला नै बदनाम थिए । यति हुँदाहुँदै पनि नेपाली कांग्रेसको आन्तरिक समीकरणमा शशांक कोइरालाको आशिर्वादवापत् उनले शक्तिशाली र स्रोतसम्पन्न मन्त्रालयमा हालीमुहाली गर्न पाए । कुनै समय तीनवटा मन्त्रालयको कार्यक्षेत्र रहेको विभागमा अहिले खड्का एक्लैको हालीमुहाली गरिहेका छन् ।
उनी जतिसुकै इमानदार, कार्यक्षमताले युक्त र संस्थाप्रति प्रतिबद्ध व्यवस्थापक भए पनि उनको धर्म देशको कार्यकारीसँग जोरी खोज्नु होइन । जब उनी कार्यकारीसँग नीतिगत असहमति राख्छन् भने त्यो पद उनले छाड्नुपर्ने हुन्छ । उनीसँग दुईवटा मात्र विकल्प रहन्छ । एक, खुरुखुरु सरकारका निर्णय कार्यान्वयन गरेर सघाउने। दुई, सघाउन सकिँदैन भने राजीनामा दिएर घर जाने। अझ पदमा बसेर सार्वजनिक स्रोतसाधनको प्रयोग गरेर सरकारमाथि जाइलाग्ने अधिकार उनीसँग हुँदैन, छैन ।
कुलमान रहेको पद राजनीतिक नियुक्तिवाला पद हो । यसकारण पनि उनी राजनीतिक नेतृत्वसँग जोरी खोज्ने हैसियत र नैतिकता राख्दैनन् । जुन दलले ल्यायो, उही दलप्रति उनी वफादार हुन्छन् । नेपालको सबैभन्दा धेरै स्रोतसाधन भएको सरकारी संस्थान विद्युत प्राधिकरणलाई उनले माओवादीको राजनीतिक लाभका लागि दुरुपयोग गरिरहेका छन् भन्ने जगजाहेर छ ।
ऊर्जामन्त्री खड्का आफू विद्युत प्राधिकरणको स्रोतसाधनमा हालीमुहाली गर्न र मुनाफाखोरी गर्न खोजिरहेका छन् ।कसैलाई देखाउनका लागि मात्र गरिरहेका छन् । न मन्त्रीले कुलमानलाई हटाउन सकेका छन्, न कुलमानले आफै राजीनामा दिएर मार्गप्रशस्त गरेका छन् ।
