• Saturday 31st of October 2026

गणतन्त्रवादीको मुटु हल्लियो, अब राजालाई गद्दीमा राख्छौं : धवलशमशेर


  • धनकुटा खबर
  • .

सुर्खेत – राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले राजा ज्ञानेन्द्रलाई नेपाली जनताले विमानस्थलबाट निर्मल निवास पुर्‍याएपछि गणतन्त्रवादीको ‘मुटु हल्लिएको’ बताएका छन्। उनले राजालाई अब चाँडै राजगद्दीमा राख्ने उद्घोष गरेका छन्।

‘राजालाई जनताले काठमाडौं एयरपोर्टबाट निर्मल निवास लगेको देखेपछि गणतन्त्रवादी, संघीयतावादी र धर्मनिरपेक्षतावादीहरूको मुटु हल्लिएको छ। अब राजालाई राजगद्दीमा फर्काउने धेरै समय छैन,’ राप्रपा महामन्त्री राणाले सोमबार राप्रपाद्वारा आयोजित मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै भने।

चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनबाट गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने राणाले घोषणा गरे। ‘आउने चैतमा गणतन्त्र, धर्मनिरपेक्षता, अवस्था र व्यवस्थालाई हामी के गर्छौ? चैट गर्छौं,’ उनले भने, ‘एक महिनाको समयमा हामी योजना बनाएर अघि बढ्छौं।’

गणतन्त्रवादी पार्टीहरूको मुटु थर्किएपछि हिजोबाट एक ठाउँ आउने योजनामा रहेको भन्दै राप्रपा आन्दोलन परिचालन समितिका संयोजक राणाले भने, ‘अब हामी सबै राजावादी, राष्ट्रवादी, हिन्दुवादी, संघीयताविरोधी, गणतन्त्रविरोधी, भ्रष्टाचारविरोधी एकजुट भएर यिनको सामना गर्नु पर्दछ।’

राजसंस्था सँगसँगै बेचेर खाएको धर्म, संस्कृति पनि पुनःस्थापना गर्ने राणाले बताए। १४ अर्ब रुपैयाँ खाएर हाम्रो धर्म, रीतिरिवाज बेचेको, भ्रष्टाचार भएको कुरा अमेरिकी राष्ट्रपतिको भनाइबाट पुष्टि भएको उनले बताए।

प्रतिनिधिसभा सदस्य समेत रहेका राणाले उपस्थित जनसमुदायलाई काठमाडौं केन्द्रित आन्दोलनमा भाग लिन चैतमा राजधानी आउन आमन्त्रण गरे।

कार्यक्रम वीरेन्द्र चोकमा कोणसभामा परिणत हुनपूर्व मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गरेको थियो। र्‍यालीमा राजसंस्थाको पक्षमा र गणतन्त्रको विरुद्धमा नारा लगाइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖