• Saturday 31st of October 2026

आदित्यनाथ फोटोमा एमालेको आशंका भारततिर


  • धनकुटा खबर
  • .

काठमाडौँ । आइताबार राजावादीले निकालेको जुलुसमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग गरिएको विषयमा सत्तारुढ दल नेकपा एमालेले भारतमाथि आशंका गरेको छ । फागुन २५ गते पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आउने क्रममा उनको स्वागतमा लागेको भीडमा आदित्यनाथको फोटो प्रयोग भएको थियो ।

प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा आदित्यनाथको फोटो उक्त भीडमा राख्न लगाइएको राप्रपाका सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले आरोप लगाएका छन् । आफूहरूमाथि आरोप लागेपछि एमालेका नेताहरू यतिवेला त्यसको खण्डनमा लागिपरेका छन् । स्वयं प्रधानमन्त्रीले नै सांसद शाहीको आरोप खण्डन गर्नुपरेको छ ।

तर उक्त तस्बिरका कारण एमाले नेता तथा सरकारले भारतप्रति विभिन्न आशंका गरिरहेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको नामै उल्लेख गरेर प्रधानमन्त्रीकै निर्देशनमा राख्न लगाइएको शाहीले आरोप लगाएका थिए । रिमाल र शाहीले यस विषयमा फेसबुकमा स्टाटस लेख्दै एकअर्काविरुद्ध आरोप–प्रयारोप नै गरेका थिए ।

सोमबार भएको एउटा कार्यक्रममा त प्रधानमन्त्री ओलीले त्यो तस्बिरबारे निकै टिप्पणी गरेका थिए । ‘एउटा जुलुस निकाल्नुपर्‍यो भने एउटा विदेशीको फोटो राख्ने दयनीय हालतमा रहेको’ टिप्पणी गर्दै उनले भने भनेका थिए, ‘हामीले त आफै गर्न सक्छौँ, हामीलाई अरू कसैको तस्बिरको आवश्यकता पर्दैन ।’

उनले व्यङ्ग्य गर्दै भनेका थिए, ‘त्यो जुलुसै मैले निकालेको हुँ, भयो ! फोटो पनि मैले राखदिया, गाडी नि मैले राखदिया, मोटरसाइकल नि मैले पठाइदिया, कुन राणाजीले फोटो भव्यसँग बोकेर हिँड्नुभएको थियो, राणाजी पनि मेरा भाइ हुनुभयो !’

एमालेका नेताहरूको बुझाइमा राजावादीहरूले भारतको सहयोगमा यो आन्दोलन गरिरहेका छन् । यस विषयमा एक राजनीतिक विश्लेषकले भने, ‘प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले गर्नुभएको टिप्पणीको आशय पनि त्यहीं हो ।’

भारतसँग एमालेको सम्बन्ध बिग्रिएको बेला राजवादीहरू यसरी सक्रिय हुनुको पछाडि भारतकै हात रहेको निष्कर्षमा एमालेका नेताहरू पुगिसकेका ती विश्लेषक बताउँछन् । पार्टीका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा गरेको टिप्पणीले पनि त्यो कुराको पुष्टि गरेको उनले बताए ।

राप्रपा र केही राजवादी संघ संगठनले हिन्दु राष्ट्रको कुरा उठाउनुमा पोखरेलले पनि भारतलाई दोषी देखाएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरू नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका छन् । विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरू अस्तित्वमा रहेको बताउँदै हिन्दुहरूको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन् । नेपालको पूर्वराजालाई त्यो सम्मान दिनु उचित हुने बताइरहेका छन् ।’

उनीहरूको (भारतीय) चिन्ता उनीहरूले भन्ने गरेजस्तै हो भने भारतमै हिन्दु धर्मावलम्बी राजा र महाराजाहरूलाई पुनस्र्थापित गर्दा हुने पोखरेलले सुझाव पनि दिएका थिए । तर त्यो सम्भव नभएको र भारतीय संविधानले त्यसो गर्न नदिने उनले पोखरेलले लेखेका छन् ।

विदेश मामिलाका जानकार एवं एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पनि भारतले भन्दैमा देशमा राजतन्त्र नफर्किने बताएका छन् । उनले भने, ‘यो सात साल होइन । त्यतिवेला भागेर भारतीय दूतावासमा शरण लिँदै दिल्ली पुगेका त्रिभुवनलाई भारतले गद्दीमा फर्काइदिएझैँ अहिले जनआन्दोलनबाट सत्ताच्यूत भएका ज्ञानेन्द्रलाई कसैले फर्काइदिन्छ भनेर मुख नमिठ्याए हुन्छ ।’

गणतन्त्रको विरोध गर्दा ‘विदेशीले ल्याइदिएको’ भनेर जनताको मानमर्दन गर्ने तर गुमेको सत्ता फर्काउन विदेशीको दलाली गर्ने कुराले कथित राष्ट्रवादको मुखुण्डो राम्रैसँग उतारिदिएको उनले टिप्पणी गरेका छन् ।

र्‍यालीमा आदित्यनाथको तस्बिर बोकेका प्रदीपविक्रम राणा भागेर भारतको गोरखपुर पुगेका छन् । त्यसले भारतमाथि एमालेका नेताहरू झन् शंका गरिरहेका छन् ।

यद्यपि त्यहाँ पुगेर भारतीय सञ्चारमाध्यमलाई राणाले आफूलाई आदित्यनाथ र राजा दुवै मन पर्ने र यो तस्बिर बोकेको बताएका छन् । आदित्यनाथसँग आफ्नो भेटघाट नभएको पनि उनले बताएका छन् ।

नेपाल प्रहरीको डरले आफू भारत भागेको पनि उनले उक्त अन्तर्वार्तामा भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖