• Friday 30th of October 2026

तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेशलाई ‘गोली लागेको’ भनेर भ्रम फैलाइयो, कारबाही गर्छौं :प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौ । जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा मृत्यु भएका एभिन्युजका पत्रकार सुरेश रजकलाई ‘गोली लागेको’ भन्दै भ्रामक सूचना फैलाइएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।

शुक्रबार राजावादी प्रदर्शनका क्रममा भएको झडप र आगजनीमा सुरेशको मृत्यु भएको थियो।

प्रहरी प्रवक्ता अपील राज बोहराले सामाजिक सञ्जालमा ‘गोली लागेर मृत्यु’ भएको अफवाह फैलाउने व्यक्ति वा संस्थामाथि कानुनी कारबाही हुने बताए।

“घटनाको गम्भीर अनुसन्धान भइरहेको छ, तर पोस्टमार्टम पनि नभइसकेको अवस्थामा गलत सूचना फैलाउनु गैरजिम्मेवार कार्य हो,” उनले भने।

प्रहरीले यस्ता भ्रामक समाचारले अनुसन्धानमा बाधा पुग्ने जनाउँदै सर्वसाधारणलाई सत्यतथ्य नबुझी सूचना नफैलाउन आग्रह गरेको छ।

चैत १५ गते ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ को प्रदर्शनमा हिंसा भड्किएपछि तीनकुनेस्थित एक घरमा आगलागी हुँदा सुरेशको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

तर, केही समूहले प्रहरीको गोली लागेको दाबी गर्दै भ्रम फैलाएपछि प्रहरीले यस्तो कदम चालेको हो।

यसैबीच, सुरेशका दाइ रमेश रजकले शवको पोस्टमार्टम अझै नभएको बताएका छन्। टिचिङ अस्पताल महाराजगञ्जमा रहेको शवको पोस्टमार्टम सरकारले आफूहरूको माग पूरा नगरेसम्म नगर्ने उनको अडान छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖