काठमाडौं, १३ कार्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले नेपालको पूर्वदेखि पश्चिमसम्म वर्षा भइरहेको छ। शुक्रबार बिहानैदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म वर्षा भइरहेकोमा अहिले वर्षा सुदूरपश्चिमसम्म फैलिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ। धनकुटाको लेगुवाघाटमा सबैभन्दा बढी ५२.८ मिलिमिटर र खोटाङको कुर्लेघाटमा ४८.२ मिलिमिटर वर्षा भएको छ।
कोशी प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा २० देखि ५० मिलिमिटरसम्म वर्षा भएको छ। काठमाडौं उपत्यकामा पनि गएरातिदेखि पानी पर्ने र रोकिने क्रम जारी छ।
मौसमविद्हरूका अनुसार चक्रवात ‘अर्नब’ कमजोर बन्दै नेपाल नजिक आइरहेको छ। यसको प्रभावले विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रमा साँझ तथा रातिको समयमा वर्षा थप बढ्न सक्ने अनुमान गरिएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार रातितिर वर्षाको क्रम बढ्ने भए पनि अधिकांश स्थानमा झरी पर्ने सम्भावना छ। एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्नेछ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि चक्रवातको प्रभावले करिब ५ देखि १० घण्टासम्म भारी वर्षा हुन सक्ने सम्भावना रहेको बताएका छन्।
उनले वर्षाको समय, स्थान र मात्रा परिवर्तन हुन सक्ने भएकाले विशेषगरी साँझ र रातिको समयमा सतर्क रहन तथा आधिकारिक मौसम सूचना र अपडेटमा ध्यान दिन आग्रह गरेका छन्।
