काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीचको भेटपछि स्थगित भएको मन्त्रिपरिषद् बैठक अझै बस्न सकेको छैन। बुधबारका लागि तय भएको बैठक दुई नेताबीचको छलफलपछि स्थगित भएको समाचार बाहिरिएकाे थियाे । बुधबार स्थगित भएपछि मन्त्रीपरिषद् बैठक बिहीबार बस्ने भनिएकाे थियाे । तर, बिहिबार पनि बैठक बस्न सकेन ।
हाल याे समाचार तयार गर्दासम्म पनि मन्त्रीपरिषद् बैठक कहिले बस्ने भन्ने तय भएकाे छैन ।
प्रधानमन्त्री शाह र लामिछानेबीचको भेटमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको विषय, निजामती सेवा अध्यादेश, राजनीतिक नियुक्ति तथा रास्वपा सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडियो प्रकरणबारे छलफल भएको बताइएको छ।
विशेषगरी आईजीपी कार्कीको विषयले सरकारभित्र तरंग पैदा गरेको छ। निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी विवाद र प्रहरी नेतृत्व परिवर्तनको चर्चाले प्रहरी संगठनको नेतृत्वलाई लिएर थप अन्योल सिर्जना गरेको छ।
त्यस्तै, निजामती सेवा अध्यादेशमा प्रस्तावित ३०–५५ वर्षे व्यवस्थाबारे पनि प्रधानमन्त्री र लामिछानेबीच मतभेद रहेको बताइएको छ। राजनीतिक नियुक्तिका विषयमा समेत सहमति जुट्न नसक्दा बैठक बस्न नसकेकाे स्रोतको दाबी छ।
पछिल्ला यी विषयमा साझा धारणा बनाएर मात्रै मन्त्रिपरिषद्बाट निर्णय गर्ने तयारीका कारण बैठक अनिश्चित बनेको चर्चा छ । स्राेतका अनुसार प्रधानमन्त्री बालेनले आईजीपी कार्कीमाथि कठाेर कदम चाल्न चाहेका छन् भने सभापति लामिछाेनेले सहमति जनाएका छैनन् ।
सरकारले राजीनामा दिन दबाब खिएकाे र राजीनामा नदिए बर्खास्त गर्न लागेकाे समाचार बाहिरिएसँगै आईजीपी कार्कीले बिहीबार पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी) बैठक बाेलाएका थिए । दिउँसो सवा २ बजेबाट सुरु भएको बैठक साँझ पौने ८ बजेसम्म साढे ६ घण्टा छलफल चलेकाे थियो । यो बैठकलाई चासोका साथ हेरिएको थियो ।
बैठकमा प्रहरी संगठनमाथि भइरहेको प्रहारमा एकजुट हुनुपर्नेमा सबै एकमत भएकाे स्राेतकाे दाबी छ ।
पीसीसी बैठकमा काठमाडौं उपत्यकामा कार्यरत डीआईजी र एआईजी सहभागी हुँदै आएकोमा पहिलो पटक यो बैठकका लागि भन्दै हेडक्वाटर सातै प्रदेशका प्रमुख तथा डीआईजीहरूलाई समेत बोलाएको थियो ।
