काठमाडौँ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’ बनेबापत प्राप्त गरेको शतप्रतिशत पुरस्कार रकम सडकका जनावरको हेरचाह र संरक्षणमा खर्च गर्ने घोषणा गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत कप्तान कामीले पुरस्कारस्वरूप प्राप्त रकम सडकमा रहेका जनावरको हेरचाह तथा सुरक्षाका लागि काम गर्दै आएकी सिर्जना ठकुरीलाई दिने बताएका हुन्।
कामीले व्यक्तिगत उपलब्धिभन्दा टोलीलाई जित दिलाउन योगदान गर्न पाउनु ठूलो उपलब्धि भएको उल्लेख गर्दै कठिन समयमा साथ र विश्वास गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
‘यो जर्सी लगाएर यस फ्रेन्चाइजका लागि खेल्नु र संघर्ष गर्नु मेरो लागि ठूलो सम्मानको कुरा हो। तर महानता बाँड्दा अझ बढ्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
जनावरको संरक्षणमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै उनले हरेक सानो पाइला वा पन्जाको पनि महत्त्व हुने उल्लेख गरेका छन्।
बिहीबार भएको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको थियो। विराटनगरले दिएको १८६ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।
कर्णालीको जितमा कप्तान सोमपालले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए। उनले बलिङतर्फ ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएका थिए भने ब्याटिङतर्फ ३२ बलमा अविजित ६२ रन बनाएका थिए।
एक समय ५७ रनमै ५ विकेट गुमाएर दबाबमा परेको कर्णालीलाई सोमपालले अविजित अर्धशतकीय पारी खेल्दै जितसम्म पुर्याएका थिए।
