• Friday 30th of October 2026

करिब हजार प्रहरीको बीचबाटै भागेका दुर्गा प्रसाईंले देश छाडिसके !


  • धनकुटा खबर
  • .

काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंको तीनकुनेमा ‘अराजक प्रदर्शन’ भयो ।

त्यस दिन तीनकुनेमा हिंसा मच्चियो । दुई जनाको ज्यान गयो । एकजना पत्रकारलाई घरभित्रै आगो लगाएर ज्यान लिइयो । यसको नेतृत्वमा थिए विवादित व्यवसायी दुर्गा प्रसाईं । उनै प्रसाईं आक्रोशित भएर प्रहरीमाथि नै गाडी चलाउने प्रयास गरे ।

तीनकुने प्रदर्शन नियन्त्रणका लागि करिब हजारको हाराहारीमा प्रहरी खटिएको थियो । प्रहरीमाथि नै गाडी चलाउने प्रयास गरेर अघि बढेका प्रसाईंलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर फेरि प्रदर्शन भइरहेको क्षेत्रतर्फ नै छाडिदियो ।

प्रहरीभित्र यो घटनालाई लिएर ‘प्रहरीको असफलता’ भन्दै चर्को बहस भइरहेको छ ।

नियन्त्रणमा लिइसकेका प्रसाईंलाई किन छाडियो ? नियन्त्रणमा लिन आदेश माग्दा माथिबाट किन दिइएन ? फिल्डमा खटिएका प्रहरीको मनोबल गिराउने काम किन भयो ?लगायतका प्रश्न अहिले प्रहरी संगठनभित्र उठिरहेको छ ।

एक प्रहरी अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने, “काठमाडौंको तीनकुनेमा यो खालको अराजक अवस्था आउँदैछ भन्ने प्रहरी संगठनले आकलन नगरेको होइन, तर आदेश दिने बेलामा केही कमजोरी भयो ।”
गाडीसहित नियन्त्रणमा लिइएको केहीबेरमा प्रसाईं फेरि तीनकुने पुगेका थिए । केहीबेर उनका समर्थकहरूसँग एउटा पसलको सटरमा बसे । त्यहाँसम्म पनि प्रहरी अधिकारी सँगसँगै थिए ।

त्यसपछि प्रसाईं कसरी बाहिरिए ? कहाँ पुगे अहिलेसम्म प्रहरीले पत्तो पाउन सकेको छैन । त्यहाँबाट बेलुका प्रसाईं आफ्ना गुरू पुस्कर खतिवडाको निवासमा पुगेर फलफूल खाएर हिँडेका थिए ।

त्यहाँबाट उनी ‘मोबाइल अफ गरेर भागेको’ प्रहरीका एक अधिकारीले जानकारी गराए ।

“हामीलाई पक्राउ गर्नू भन्ने आदेश नै बेलुका ६ बजेपछि आएको हो,” फिल्डमा खटिएका एक प्रहरी अधिकारीले टिप्पणी गर्दै भने, “त्यसबेला उनी काठमाडौं कट्ने तरखरमा थिए ।”

उनका अनुसार प्रसाईंले काठमाडौंकै एक मन्दिरमा लुकेर बसेको छु भने पनि उनी भागेर भारत पुगिसकेको अनुमान गरिएको छ ।

“उनले काठमाडौंको एक मन्दिरमा छु भनेर भनेका छन्, तर उनी रातारात मोटरसाइकलमा भारत पुगिसकेको खबर छ,” उनले भने ।

मोटरसाइकलमा चढेर रातारात हेटौंडा हुँदै भारत पुगेको र नेपालकै मन्दिरमा छु भनेर बनाएको भिडियो पनि भारतकै एक मन्दिर भएको ती प्रहरी अधिकारीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖