काठमाडौं- काठमाडौंमा हिंसात्मक प्रदर्शन मच्चाएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारत पुगेको खुलेको छ । एक उच्च प्रहरी अधिकारीले प्रसाईं भारत पुगेको बताए ।
यही चैत १५ गते प्रसाईंले ‘कमान्ड’ गरेको प्रदर्शन अराजक बनेपछि उनले काठमाडौं छाडेको ती प्रहरी अधिकारीले जानकारी दिए ।
राजावादीको प्रदर्शनक्रममा दुईजनाको मृत्यु भएको थियो । पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनले ज्यान गुमाएका हुन् ।
प्रदर्शनक्रममा दर्जनौँ सवारीसाधन, सार्वजनिक सम्पत्ति, निजी घरमा तोडफोड, आगजनी र भाटभटेनी सुपरस्टोरमा लुटपाट समेत गरिएको थियो । प्रदर्शन उत्तेजित बनाएको र आन्दोलनका ‘कमान्डर’ समेत रहेकाले प्रसाईंलाई पक्राउ गर्ने सरकारी तयारीबीच उनी काठमाडौं छाडेर भारत हानिएका प्रहरीको भनाइ छ ।
