• Friday 30th of October 2026

दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ – अराजक आन्दोलनका नेता दुर्गा प्रसाईं खोज्न प्रहरीले नयाँ रणनीति बनाएको छ । उनको खोजीका लागि नेपाल प्रहरीले एकद्वार प्रणालीको विकास गर्दै प्रहरी हेडक्वाटरको विशेष व्युरोको कमाण्डबाट अनुसन्धान शुरु गरेको छ ।

प्रसाईंको खोजीका निम्ति सिआइबी र उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली परिचालित थियो । टोलीले दुई दिनयता प्रसाईंको खोजी कार्य बन्द गरेको छ । चैत स्शुक्रबारको राजावादी प्रदर्शनलगत्तै फरार रहेका उक्त प्रदर्शनका अगुवा दुर्गा प्रसाईंको खोजी गर्न नेपाल प्रहरीले नयाँ रणनीति अबलम्बन गरेको छ ।

प्रदर्शन भएकै राति प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणा, अधिवक्ता स्वागत नेपालसहितलाई पक्राउ गरेको थियो । तर, सबैभन्दा पहिले खोजिएका प्रसाईं अझै पक्राउ परेका छैनन् । उनको खोजीका लागि नेपाल प्रहरीले एकद्वार प्रणालीको विकास गर्दै प्रधान कार्यालयस्थित विशेष व्युरोको कमाण्डबाट काम शुरु गरेको छ ।

प्रसाईं उपत्यकाभित्रै छन् वा छैनन् भन्नेसमेत खुलेको छैन । प्रहरीस्रोतका अनुसार अनुसन्धानकर्मीको ध्यान अन्यत्र मोड्नका लागि उनी भारत छिरेको हल्ला चलाइएको हुन सक्छ । उनी नेपालभित्रै रहेको प्रहरी अनुमान छ ।

केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोली पनि प्रसाईंको खोजीमा थियो । तर, न्युन जनशक्ति र अनुसन्धान गरिनुपर्ने विषयको चापका कारण उसले पनि प्रसाईं खोजी गर्ने कामबाट हात झिकेको छ । बाहिरी युनिटहरु अन्य काममा व्यस्त भएपछि प्रहरी अनुसन्धानका जटिल विषयहरुको निरुपण गर्ने निकायका रुपमा रहेको विशेष व्युरोलाई सक्रिय बनाइएको केन्द्रीय प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖