• Friday 30th of October 2026

भुटानमा हिमताल फुटेर भीषण बाढी, भारतको उत्तर बङ्गालमा १० हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए


  • धनकुटा खबर
  • .

काठमाडौँ । भुटानको गसा जिल्लास्थित लेम्थाङ क्षेत्रमा हिमताल फुटेर भीषण बाढी आएको छ। मो छु नदी हुँदै सङ्कोश नदीतर्फ तीव्र गतिमा बाढी बगेपछि भारतको पश्चिम बङ्गाल प्रशासनले उत्तर बङ्गाल क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।

सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थान तथा राहत शिविरमा सारिएको छ।

भुटानको राष्ट्रिय सञ्चारमाध्यम भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) का अनुसार बाढीले गसा जिल्लास्थित प्रसिद्ध पर्यटकीय क्षेत्र गसा छाछुको प्राकृतिक तातोपानी क्षेत्रका पूर्वाधारमा क्षति पुर्‍याएको छ। हालसम्म मानवीय क्षति वा घाइते भएको विवरण सार्वजनिक भएको छैन।

रातिको समयमा आएको बाढीका कारण भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ। अँध्यारो र पानीको तीव्र बहावका कारण क्षतिको यकिन आकलन गर्न कठिन भएको बीबीएसले जनाएको छ। बाढीले दुईवटा बेली ब्रिजसमेत बगाएको आशङ्का गरिएको छ।

भुटानी सञ्चारमाध्यम कुएनसेलका अनुसार तातोपानी क्षेत्रतर्फ जाने लाया गाउँको सडकका केही भाग बाढीले बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक अनिश्चितकालका लागि बन्द गरिएको छ। बाढी पुग्नुअघि नै तातोपानी क्षेत्र खाली गराइएको जनाइएको छ।

हिमताल फुटेको खबरपछि पश्चिम बङ्गाल प्रशासनले विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको छ। सङ्कोश र यसका सहायक नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। दार्जिलिङ र डुअर्स क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन भनिएको छ।

दार्जिलिङका सांसद राजु बिष्टले सामाजिक सञ्जालमार्फत सङ्कोश नदी तथा यसका सहायक नदी किनारमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्।

राज्यमन्त्री निसिथ प्रामाणिकका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ मो छु र सङ्कोश नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराइएको थियो। पानी ५ देखि ६ घण्टाभित्र मैदानी क्षेत्रमा पुग्न सक्ने अनुमानपछि राज्य विपद् व्यवस्थापन टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) परिचालन गरिएको थियो।

अलिपुरद्वारका प्रहरी प्रमुख अमित कुमार शाहले जिल्ला प्रशासन, भुटानी अधिकारी तथा विभिन्न निकायसँग समन्वय भइरहेको बताएका छन्। उनका अनुसार करिब ४ देखि ५ हजार मानिसलाई विद्यालय भवनमा बनाइएका राहत शिविरमा राखिएको छ भने ६ हजारभन्दा बढीलाई अन्य सुरक्षित स्थानमा सारिएको छ।

राहत शिविरमा सुक्खा खाना, पिउने पानी र शौचालयको व्यवस्था गरिएको छ। सङ्कोश नदी क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। पछिल्लो जानकारीअनुसार पानीको बहाव केही घटे पनि प्रशासनले उच्च सतर्कता कायम राखेको छ।

हिमतालमा जम्मा भएको पानी रोक्ने प्राकृतिक बाँध फुट्दा ठूलो मात्रामा पानी तल्लो क्षेत्रमा बग्ने घटनालाई हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) भनिन्छ। यस्तो बाढीले नदी तटीय बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याउन सक्छ।

भुटानको गसा जिल्लास्थित वाकिला पहाडमुनि रहेको शिन्ताफु ताललाई देशका जोखिमयुक्त १७ हिमतालमध्ये एक मानिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖