• Thursday 29th of October 2026

आईजीपी कार्कीको आकस्मिक पीसीसी बैठकमा चार घण्टा छलफल, सूचना चुहावटबारे अनुसन्धान गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आकस्मिक रूपमा बोलाएको प्रहरी पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) बैठकमा पछिल्लो घटनाक्रमबारे करिब चार घण्टा छलफल भएको छ।

बैठकमा मुख्य रूपमा इनम सापकोटामाथि भइरहेको अनुसन्धानको सूचना चुहावट र आईजीपी कार्कीविरुद्ध सार्वजनिक भइरहेका विवरणबारे छलफल भएको बैठकमा सहभागी एक उच्च प्रहरी अधिकृतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

प्रहरीका उच्च अधिकृतहरूका अनुसार पछिल्लो समय सरकारले आईजीपी कार्कीलाई पदबाट हटाउने तयारी गरेको भन्ने विवरण सार्वजनिक भएपछि त्यसबारे पनि बैठकमा छलफल भएको थियो। सहभागी अधिकृतका अनुसार संगठन प्रमुखविरुद्ध सार्वजनिक भएका विवरणको सामूहिक रूपमा खण्डन गर्ने विषयमा समेत छलफल भएको छ।

बैठकमा सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी), आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र आईजीपी कार्कीले आ–आफ्नो धारणा राखेका थिए।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध रहेको भनिएकी इनम सापकोटा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छिन्। उनीमाथि भइरहेको अनुसन्धानका विषयमा गोप्य सूचना बाहिरिएको घटनालाई पनि बैठकले महत्त्वका साथ उठाएको बताइएको छ।

अनुसन्धानसँग सम्बन्धित सूचना कसरी बाहिरियो र त्यसमा संलग्न व्यक्तिहरूमाथि कसरी छानबिन गर्ने भन्ने विषयमा छलफल भएको प्रहरी अधिकृतहरूले बताएका छन्। सूचना चुहावटबारे कडा अनुसन्धान गरी दोषी देखिएकामाथि कारबाही गर्ने विषयमा समेत बैठकमा चर्चा भएको बताइएको छ।

बैठकमा आईजीपी कार्कीले आफूविरुद्ध सार्वजनिक भइरहेका विवरणमा सत्यता नभएको दाबी गर्दै भ्रममा नपर्न आग्रह गरेको सहभागी एक अधिकृतले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖