• Friday 30th of October 2026

भुटानमा हिमताल फुटेर भीषण बाढी


  • धनकुटा खबर
  • .

काठमाडौं । भुटानको उत्तरी क्षेत्रमा रहेको शिंताफू हिमतालबाट एक्कासि ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडक बगाएको छ । बाढीका कारण दुर्गम लाया क्षेत्र भुटानका अन्य भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ ।

गासा जिल्लास्थित हिमतालबाट निस्किएको बाढी राति करिब ८ः१५ बजे ताक्तसेमाखाङ पुगेको थियो । बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पुर्‍याएपछि उक्त सडकमा सबै प्रकारका सवारी आवागमन बन्द गरिएको छ ।

भुटानी अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा अन्य व्यक्तिलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । सम्भावित जोखिमलाई ध्यानमा राख्दै आसपासका क्षेत्रलाई समेत सतर्क गराइएको छ । घटनामा हालसम्म मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छैन ।

रातिको समयमा घटना भएकाले हिमतालबाट बाहिरिएको पानीको मात्रा र बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । प्रारम्भिक आकलनले भने बाढीको प्रभाव गम्भीर हुन सक्ने देखाएको छ ।

यस घटनापछि भारतको पश्चिम बंगालमा समेत सतर्कता बढाइएको छ । वनमन्त्री मनोज कुमार ओरांवले संकोश नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन् । उनले जोखिममा रहेका नागरिकसँग सम्पर्क गर्न र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖