• Monday 5th of October 2026

आईपीएलमा धोनीले बनाए अर्को कीर्तिमान


  • धनकुटा खबर
  • .

भारतीय लेजेण्ड तथा इन्डियन प्रिमियर लिग (आईपीएल) टिम चेन्नई सुपर किंग्सका पूर्व एवम् हालका निमित्त कप्तान महेन्द्रसिंह धोनीले आईपीएलको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।

४३ वर्षीय धोनी आईपीएल इतिहासमा २०० डिसमिसल पूरा गर्ने पहिलो विकेटकिपर बनेका छन् । सोमबार भइरहेको लखनउ सुपर जायन्ट्समा आयुष बदोनीलाई स्टम्पिङ आउट गर्दै उनले २००औं डिसमिसल पूरा गरेका हुन् ।

धोनीका २०० डिसमिसलमध्ये १५४ क्याच र ४६ स्टम्पिङ छन् जुन विकेटकिपरको हैसियतमा एक अद्वितीय रेकर्ड हो।

धोनी एकमात्र त्यस्ता खेलाडी हुन् जसले आईपीएल इतिहासमा ५,००० भन्दा बढी रन र २०० भन्दा बढी विकेटकिपिङ डिसमिसल दुवै पुरा गरेका छन्।

उनले हालसम्म २७१ खेल खेल्दा ५ हजार ३०० भन्दा बढी रन बनाइसकेका छन्, जसमा धेरै खेलहरूमा उनले फिनिशरको भूमिकामा रहँदै टोलीलाई जित दिलाएका छन्।

उनको कप्तानीमा चेन्नई सुपर किंग्सले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा गरी पाँच पटक आईपीएलको उपाधि जितेको छ ।

उनी आईपीएल इतिहासमै सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने खेलाडी हुन्, जसले २३० भन्दा बढी खेलमा टिमको नेतृत्व गरेका छन्। धोनीको कप्तानीमा चेन्नई १० पटक फाइनलमा पुगेको छ, जुन आफैंमा एक अर्को रेकर्ड हो।

धोनी विकेटपछाडिबाट खेलको रणनीति चलाउने, स्टम्पिङ र क्याचमार्फत विपक्षी खेलाडीलाई चकित पार्ने तथा खेलको अन्तिम ओभरहरूमा चमत्कारी ब्याटिङ गर्ने क्षमताका कारण चर्चित छन्।

उनी आईपीएल इतिहासमा सबैभन्दा धेरै स्टम्पिङ गर्ने विकेटकिपर समेत हुन्। यति उमेरमा पनि उनका प्रतिक्रियाहरू र निर्णय क्षमताले युवा खेलाडीहरूलाई समेत चुनौती दिन्छ।

सन् २०२४ देखि चेन्नईको नियमित कप्तानमा रुतुराज गायक्‍वाड रहेको भएपनि यस सिजन रुतुराज चोटका कारण सिजनभरलाई बाहिरिएपछि धोनीले फेरि कप्तानी गर्ने जिम्मेवारी पाएका हुन् ।

यस सिजन धोनीले हालसम्म ६ खेल खेल्दा सुरुको खेल मात्र जितेको छ भने लगातार ५ खेलमा पराजित हुँदै समस्यामा छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖