• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पूर्वडीआईजी हत्या प्रकरण : श्रीमती र छोरी पक्राउ, गुगलमा खोजेका थिए हत्याको विधि !


  • धनकुटा खबर
  • .

कर्नाटकका पूर्वप्रहरी महानिर्देशक (डीजीपी) ओम प्रकाशको हत्या प्रकरणमा उनकी श्रीमती पल्लवीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालतमा पेस गरेपछि १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार उनकी छोरी कृति पनि पक्राउ परेकी छन् ।

प्रहरी स्रोतका अनुसार घटना हुँदा ओम प्रकाश खाना खाइरहेका थिए । त्यही क्रममा श्रीमतीसँग भनाभन भयो । झगडा यति बढ्यो कि पल्लवीले उनको हत्या गरिन् । उनले पहिले ओम प्रकाशमाथि खुर्सानीको धुलो फ्याँकिन् ।

खुर्सानीको जलनका कारण उनी भागिरहेका बेला पल्लवीले घाँटी, पेट र छातीमा १०–१२ पटक छुरा प्रहार गरिन् । घटनाको समयमा छोरी कृति पनि त्यहीँ थिइन् ।

जाँचमा संलग्न स्रोतका अनुसार, हत्या हुनु पाँच दिनअघिदेखि नै पल्लवीले गुगलमार्फत् हत्या योजना बनाइरहेकी थिइन् । उनले ‘घाँटीको नसा काट्दा कसरी मृत्यु हुन्छ?’ जस्ता विषयमा गुगल सर्च गरेकी थिइन् । उपकरण र सर्च इतिहासको जाँचपछि यो कुरा खुलेको हो । प्रहरीले यो हत्या पूर्वनियोजित (प्री-प्लान्ड) भएको बताएको छ ।

शुरुआती अनुसन्धान अनुसार हत्या गरेपछि पल्लवीले एक अन्य आईपीएस अधिकृतकी पत्नीलाई सन्देश पठाएकी थिइन्- एक राक्षसलाई समाप्त गरेँ । त्यसपछि उनले फोन गरेर ओम प्रकाशको हत्या गरेको बताइन् । तिनै आईपीएस अफिसरले नै प्रहरीलाई खबर गरेका थिए ।

छोराले आमासँगै बहिनीलाई पनि दोषी ठहर गरे
छोरा कार्तिकेशको उजुरीका आधारमा ओम प्रकाशकी श्रीमती पल्लवी र छोरी कृतिमाथि हत्या अभियोग लगाउँदै पक्राउ गरिएको हो ।

कार्तिकेशले बताए अनुसार उनकी आमा पल्लवीले अघिल्लो एक हप्तादेखि बाबुलाई ज्यान मार्ने धम्की दिइरहेकी थिइन् । धम्कीपछि ओम प्रकाश आफ्नी बहिनीको घर सरेका थिए ।

तर, दुई दिनअघि कृति त्यहाँ पुगिन् र बाबुलाई जबर्जस्ती घर ल्याइन् । दुवै आमा–छोरीको बाबुसँग झगडा भइरहन्थ्यो ।

यसअघि कार्तिकेशले एक टेलिभिजन च्यानललाई आफ्नी आमा गम्भीर मानसिक समस्याबाट ग्रसित भएको बताएका थिए । उनकी आमाले १२ वर्षदेखि सिजोफ्रेनिया (भ्रम र डर हुने मानसिक रोग)को उपचार गराइरहेकी कार्तिकेशले बताएका थिए ।

सम्पत्तिका विषयमा भएको थियो झगडा
मिडिया रिपोर्टअनुसार, ओम प्रकाश र पल्लवीबीच सम्पत्तिको विषयमा विवाद चलिरहेको थियो । ओम प्रकाशले आफ्ना केही सम्पत्ति नातेदारको नाममा सारिदिएका थिए, जसका कारण दुवैबीच बारम्बार झगडा हुन्थ्यो र झगडा शारीरिक झगडासम्म पुग्थ्यो ।

प्रहरीले छोरी कृतिको संलग्नता पनि भएको हो या होइन भन्नेबारे अनुसन्धान गरिरहेको छ । बेंगलुरुका अतिरिक्त प्रहरी आयुक्त विकास कुमारका अनुसार आइतबार साँझ करिब ४ बजेतिर ओम प्रकाशको हत्या भएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖