• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कान्छी श्रीमतीको हत्यापछि जेठी श्रीमतीलाई मेसेज पठाएर आत्महत्या


  • धनकुटा खबर
  • .

पोखरा । पोखरामा कान्छी श्रीमतीको हत्या गरेपछि श्रीमान्‌ले पनि आत्महत्या गरेका छन् । पोखरा महानगरपालिका १७ विरौटा बस्ने ५७ वर्षीय ऋषिराम बरालले श्रीमती देवीमाया पराजुलीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन् ।

घटना सोमबार दिउँसो करिब १२ बजेको हो । घटनास्थलमा रासायनिक विषादी (मेटासिट) पनि भेटिएको प्रहरीले जनाएको छ ।

बरालकी कान्छी श्रीमती देवीमायाले विरौटा नहरचोकमा फेन्सी पसल सञ्चालन गर्दै आएकी थिइन् । पछिल्लो समय श्रीमान्‌–श्रीमतीबीच घरायसी विवाद हुने गरेको थियो । सोही विवाद बढ्दै जाँदा हत्यासम्म पुगेको हो ।

घरायसी झगडामा हत्या गरेको प्रहरीको अनुमान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ । देवीमायाको घाँटीमा र अनुहारमा चोट लागेको छ । उनीहरूको शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

“श्रीमान्‌–श्रीमतीको घाँटीमा चोट छ । उनीहरूको घरायसी विवाद हो । श्रीमान्‌को पनि आज बिहान मृत्यु भयो । डेथ भएको कान्छी श्रीमती हो,” डीएसपी बस्नेतले भने, “हामीले घटनास्थलमा मेटासिटको खाली बोतल समेत फेला पारेका छौँ, मेटासिट खाएको हो या होइन त्यो पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा होला ।”

ऋषिले आत्महत्या गर्नुअघि जेठी श्रीमतीलाई मेसेज पठाएका थिए । उक्त मेसेजपछि जेठी श्रीमतीले घरमा आफन्त पठाउँदा दुवैजना घाइते भेटिएका थिए । त्यसपछि उनीहरूले स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
श्रीमतीको सोमबार नै मृत्यु भएको थियो भने श्रीमान् ऋषिरामको मंगलबार बिहान करिब ७ बजे मृत्यु भएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए । तीन वर्षअघिदेखि ऋषिराम जेठी श्रीमतीलाई छाडेर देवीमायासँग बस्दै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖