• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

भाटभटेनीबाट मदिरा चोर्ने युवक ७ वर्षदेखि चोरीमै संलग्न, गाडी लिएर गएका थिए चोर्न


  • धनकुटा खबर
  • .

काठमाडौँ । हुण्डाईको क्रेटा गाडी लिएर नक्साल स्थित भाटभटेनीमा पुगेका एक जना युवक महँगो मदिरा, आलमण्ड, काजु र पिस्ता चोरेर निस्कन्छन् । वैशाख २० मा नक्साल भाटभटेनीको भुँइतलामा रहेको ग्रोसरी डिपार्टमा भएको चोरीबारे त्यहाँका कर्मचारीले शङ्का लागेर प्रहरीलाई रिपोर्ट गरे ।

क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) मार्फत अनुसन्धान गरेर प्रहरी वृत्त मालिगाउँको टोलीले ३७ वर्षका बिमल श्रेष्ठलाई पक्राउ गरेको छ । बिमल दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर–२ का स्थानीय हुन् ।

भक्तपुरको बोडेमा पत्नीसँग बस्ने बिमल पहिले आयल निगममा करार सेवाका कर्मचारी थिए । पछिल्लो समय उनी आयल निगमकै एक जना उच्च तहका कर्मचारीको निजी गाडी चलाउँथे । ती कर्मचारीकै गाडी लिएर उनी भाटभटेनीमा चोरी गर्न गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । चोरीमा प्रयोग गरिएको गाडी प्रहरीले बरामद गरेको छ ।

ब्लु लेबल, ग्लेण्डफिडिच, ज्याक डेनियल सहित उनले करिब २ लाख १८ हजार मूल्य बराबरको चोरी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘ग्लेण्डफिडिच सहित उनले चोरेका केही मदिरा बरामद गरेर अनुसन्धान गरिरहेका छौँ ।’

चोरेको भोलिपल्ट उनी मालिकको गाडी चलाउन गएनन् । गाडीधनीले फोन गरेर बोलाउँदा भने, ‘मेरो दाँत दुखेको छ, काममा आउन सक्ने अवस्था छैन ।’ चोरेको भोलिपल्ट साँझ नै उनलाई प्रहरीले भक्तपुरको बोडेबाट पक्राउ गरेर मुद्दा चलाएको छ ।

श्रेष्ठ काठमाडौँ उपत्यकामा सक्रिय पुराना चोर हुन् । उनीविरुद्ध काठमाडौँ उपत्यका र बारामा प्रहरीले ८ वटा चोरी मुद्दामा अनुसन्धान गरेको एसपी बोहराले बताए । उनी भन्छन्, ‘हाम्रो अपराध तथ्याङ्क प्रणालीमा उनी यसअघि ८ वटा चोरीमा संलग्न भएको देखिएका छन् ।’

उनिबिरुद्ध जिल्ला प्रहरी कार्यालय बाराले २०७५ चैत ९ मा दुई वटा मुद्दा चलाएको थियो । त्यसपछि २०७६ मा प्रहरी वृत्त जगाती, वृत थिमी र प्रहरी वृत्त नयाँ बानेश्वरले पनि अनुसन्धान गरेको अपराध रेकर्ड सिस्टममा देखिएको छ ।

प्रहरी वृत्त थिमीले उनलाई २०७९ साउनमा पक्राउ गरेर अनुसन्धान गरेको थियो । उनिबिरुद्ध बहुविवाह मुद्दा पनि चलेको भेटिएको छ । पछिल्लो समय उनी कान्छी पत्निसँग बोडेमा बस्दै आएका थिए ।

प्रहरी स्रोतका अनुसार उनी यसअघि एक पटक भक्तपुरको भाटभटेनीमा चोरी गर्दागर्दै समातिएका थिए । चोरेको सामान फिर्ता गरेर उनले त्यसबेला छुटकारा पाए । प्रहरीले नक्साल भाटभटेनीमा चारी गर्दा उनले लगाएको कपडा बरामद गरेको छ ।

श्रेष्ठले चोरेको ३० हजार मूल्य पर्ने ब्लु लेवल बरामद भएको छैन । ब्लु लेबलबारे अनुसन्धान अधिकृतहरूले सोधेको प्रश्नमा उनले भनेका छन्, ‘बाटैमा खाएर बोतल फालिदिएँ ।’

उनले मनोहरा खोलामा ब्लु लेबलको बोतल फ्याकेको अनुसन्धान अधिकृतहरूलाई बयान दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖