• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चिनियाँ लडाकु विमान प्रयोग गरेर भारतका पाँच ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी


  • धनकुटा खबर
  • .

पाकिस्तानले चिनियाँ लडाकु विमानको प्रयोग गरेर बुधबार पाँच भारतीय लडाकु विमान खसालेको खुलासा गरेको छ।

जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफमा भारतले बुधबार बिहानै पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो।
त्यस क्रममा भारतका पाँचवटा लडाकु विमान खसालेको दाबी पाकिस्तानले गरेको थियो। पाँचमध्ये तीनवटा फ्रान्समा निर्मित रफाल, एउटा रूसमा निर्मित मिग-२९ र अर्को पनि रूसमै बनेको सुखोइ सु-३० भएको उसको दाबी थियो।

लडाकु विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले प्रतिक्रिया दिएको छैन। स्वतन्त्र पुष्टि हुन पनि बाँकी छ।

तर एक भारतीय अधिकारीले तीन विमान दुर्घटना भएको पुष्टि गरेको तर त्यसको कारण प्रस्ट नभएको जनाए भनेर ‘द न्यूयोर्क टाइम्स’ ले बुधबार नै लेखेको थियो। दुई अरू भारतीय सुरक्षा अधिकारीले पनि केही लडाकु विमान खसालिएको भनेको तर विस्तृत केही नभनेको भनेर टाइम्सले उल्लेख गरेको थियो।

बिहीबार भने पाकिस्तानी विदेश मन्त्री इशाक डारले चीनमा निर्मित जे-१० सी लडाकु विमानको प्रयोग गरेर भारतका ती पाँचवटा लडाकु विमान खसालेको खुलासा गरे भनेर विभिन्न अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन्।

डारले चिनियाँ जे-१०सी लडाकु विमानको प्रयोग गरेर भारतका पाँचवटा लडाकु विमान खसालेको बारे पाकिस्तानी संसदलाई बुधबार राति नै जानकारी गराएका थिए।

पाकिस्तानले आफ्नो सैन्य कारबाही सकिनेबित्तिकै त्यसबारे चीनलाई तुरून्तै जानकारी गराएको पनि डारले बताएका छन्। उनका अनुसार पाकिस्तानका लागि चिनियाँ राजदूत जियाङ जैडोङले बुधबार बिहान चार बजे (पाकिस्तानी समय) नै पाकिस्तानी विदेश मन्त्रालयको भ्रमण गरेका थिए।

‘अपरेसन सिन्दुर’ नाम दिइएको भारतीय सैन्य कारबाही भारतीय समयअनुसार बिहान १:०५ देखि साढे १ बजेसम्म चलेको भारतले जनाएको छ। यसको मतलब भारतीय आक्रमण सकिएको तीन घण्टामै चिनियाँ राजदूतले पाकिस्तानी विदेश मन्त्रालयको भ्रमण गरेका हुन्।
चीनले भने अहिलेसम्म आफूले बनाएको लडाकु विमान प्रयोग गरेर भारतीय विमान खसालेको बारे केही टिप्पणी गरेको छैन।

विगतमा अमेरिकी हतियार प्रयोग गर्ने पाकिस्तान पछिल्ला वर्षमा अमेरिकासँग टाढिँदै गएकाले चीनका हतियार प्रयोग गर्न थालेको छ। पाकिस्तानले विगत पाँच वर्षमा करिब ८१ प्रतिशत हतियार चीनबाट किनेको मानिन्छ।

हाल जेलमा रहेका इमरान खान प्रधानमन्त्री भएको बेला सन् २०२२ मा पाकिस्तानले चिनियाँ जे-१०सी लडाकु विमान वायु सेनामा प्रयोग गर्न थालेको थियो।

भारत र पाकिस्तान दुवैले भारतीय लडाकू विमानले भारतीय भूमिबाटै बुधबार अचुक निसाना लाग्ने हतियार प्रयोग गरेर पाकिस्तानमाथि हमला गरेको भनेका छन्। यदी पाकिस्तानले दाबी गरे जस्तो चिनियाँ जे-१०सी लडाकु विमान प्रयोग गरेर भारतीय विमान खसालेको हो भने पाकिस्तानी लडाकु विमान भारत भित्रै पसेर वा सीमा नजिकबाट भारतीय लडाकु विमानसँग लडाइँ गरेको हुनुपर्छ।

पाकिस्तानी लडाकु विमान भारतभित्र पसेर भारतीय विमान खसालेको हो वा आफ्नै भूमिबाट त्यसो गरेको हो भन्ने अहिलेसम्म पाकिस्तानले पनि खुलाएको छैन।

जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफमा भारतले बुधबार बिहानै पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो।
पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ को दिन आतंककारी हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो।

भारतले पाकिस्तान-नियन्त्रित कश्मिरका पाँच र पाकिस्तानका चार स्थानमा आक्रमण गरेर त्यसको जबाफ दिएको छ। भारतीय आक्रमणका कारण महिला र बालबालिकासहित ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पाकिस्तानले जनाएको छ।

उता भारतले पनि कश्मिरमा पाकिस्तानले गरेको जबाफी गोलाबारीमा १३ सर्वसाधरणको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖