पाकिस्तानले बिहीबार राति जम्मू र पठानकोटमा ड्रोनबाट आक्रमण गरेको छ । भारतले गरेको आक्रमणको दुईदिनपछि पाकिस्तानले पनि जवाफी कारबाही गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेशनलाई निशाना बनाएका छन्। यद्यपि भारतीय एस-४०० मिसाइलले पाकिस्तानी ड्रोनहरू खसालेको दाबी गरिएको छ ।
यसैबीच, जम्मूमा राति ८ बजेदेखि ब्ल्याकआउट भएको छ। आरएस पूरा सेक्टरमा पाकिस्तान तर्फबाट गोलाबारी भइरहेको छ। धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्।
पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको छ। जम्मू नजिकै पाकिस्तानको एफ-१६ लडाकु जहाज खसालिएको छ।
राजस्थानका सबै सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट लगाइएको छ भने पञ्जाब, जम्मू कश्मीर र राजस्थानमा उच्च सतर्कता अपनाइएको समाचारमा उल्लेख छ ।
