• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

लाखौँ रकम सापटी लिएर ६३ दिनदेखि इटहरीकी शाखा अधिकृत बेपत्ता


  • धनकुटा खबर
  • .

विराटनगर । लाखौँ रकम सापटी लिएर नतिरेको भन्दै प्रहरीमा उजुरी परेपछि सुनसरी इटहरी उपमहानगरपालिकाकी शाखा अधिकृत सस्मिता लुइँटेल ६३ दिनदेखि बेपत्ता भएकी छिन् ।

इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईले ६३ दिनदेखि अधिकृत लुइँटेल कार्यालयमा नआएको आफूले थाहा पाएको बताए । ‘६३ दिनदेखि कार्यालयमा नआएको जानकारीमा छ । उहाँले विदाको निवेदन दिनुभएको छ । स्वीकृत भएको छैन,’ भट्टराईले भने, ‘अन्य विषय थाहा भएन ।’

इटहरीका उपमहानगरपालिकाका कर्मचारी प्रशासन प्रमुख दीपक पौडेलले कार्यालयमा अनुपस्थितिको विषयमा मात्रै आफूलाई जानकारीमा रहेको बताए । ‘कतिपय मानिसहरू लेनदेनको विषय लिएर आउने गर्दथे । कार्यालयसँग सम्बन्धित होइन भने उतै मिलाउनू भन्ने गरेको थिएँ,’ पौडेलले भने, ‘व्यक्तिगत हिसाबले कसको कोसँग कारोबार छ त्यो विषय हामीलाई जानकारी हुने कुरा होइन ।’

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले अधिकृत लुइँटेलविरुद्ध आफ्नो कार्यलयमा २ वटा उजुरी परेको बताए । ‘आर्थिक लेनदेनको दुईवटा उजुरी परेको थियो । एउटा उजुरी हाम्रो कार्यक्षेत्रभित्र पर्ने भएकोले कारबाही अगाडि बढाइएको छ । अर्को उजुरी इलाका प्रहरी कार्यालय बेलबारीको कार्यक्षेत्रमा पर्ने भएकोले त्यही अनुसन्धानको लागि लेखि पठाएका छौं ।’

भण्डारीका अनुसार इलाका प्रहरी कार्यालय इटहरीको कार्यक्षेत्रभित्र रहेको उजुरीमा २० लाख सापटी दिएको भए पनि लुइँटेलले फिर्ता नगरेको उल्लेख छ ।

यद्यपि सस्मिताले व्यापारी, ठेकेदार र सर्वसाधारणसँग ६ करोड रुपैयाँभन्दा बढी सापट लिएर पच पार्न खोजेको प्रचार भइरहेको छ । झापादेखि सुनसरीसम्मका व्यक्तिहरूलाई अधिकृत लुइँटेलले ठगी गरेको भन्दै प्रहरीमा उजुरी पर्न थालेको छ ।

सस्मिता झापाको अर्जुनधारा नगरपालिकाबाट गत भदौ ६ गते इटहरी उपमहानगरपालिका सरुवा भएको थियो । उनी वडा नम्बर १७ र २० को वडा सचिवका रूपमा कार्यरत थिइन् ।

उजुरी दिनेहरूमा झापा अर्जुनधारा नगरपालिका–८ की तुलासा प्रधानले सस्मिताले आफूसँग २० लाख रुपैयाँ लगेर नदिएको, सोही ठाउँकी कुमारी भण्डारीको पनि ९ लाख रुपैयाँ लगेको उजुरी परेको छ ।

इटहरी लबीपुरका व्यवसायी विपिन भट्टराईले सँगै पढेकी सस्मितालाई २४ लाख रुपैयाँ दिए पनि फिर्ता नपाएको बताएका छन् । स्वास्थ्य चौकी खनारमा कार्यरत कर्मचारी विकास पौडेलसँग सस्मिताले ४ लाख ५० हजार लिएको प्रमाण नै सार्वजनिक भएको छ । -रातोपाटीबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖