भारतीय विमान कम्पनी इन्डिगोले बुधबार टर्बुलेन्समा परेको आफ्नो विमानलाई पाकिस्तानले एयरस्पेस नदिएको बताएको छ।
दिल्लीबाट श्रीनगर जाँदै गरेको इन्डिगोको एक फ्लाइट ओलावृष्टिका कारण तीव्र टर्बुलेन्स (हावाको झट्का) मा परेको थियो। त्यस क्रममा पाइलटले पाकिस्तानसँग उनीहरूको एयरस्पेस प्रयोग गर्न अनुमति मागेका थिए तर पाकिस्तानले अस्वीकार गर्यो।
के थियो घटनाक्रम?
समाचार संस्था पिटीआइले २२ मेमा स्रोतहरूलाई उदृत गर्दै भनेको छ, ‘फ्लाइट जब अमृतसरमाथि उडिरहेको थियो, पाइलटले हल्का टर्बुलेन्स महसुस गरे। उनले लाहोर एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क गरी खराब मौसमबाट बच्न पाकिस्तानको एयरस्पेस प्रयोग गर्न अनुमति मागे।’
लाहोरले स्पष्ट रूपमा अनुमति नदिएपछि फ्लाइटलाई निर्धारित मार्गमै अघि बढ्नुपर्यो। त्यसपछि फ्लाइट गम्भीर टर्बुलेन्समा फस्यो र हल्लिन थाल्यो। फ्लाइटमा २२७ यात्रु थिए। तीव्र झट्काका कारण सबै जना चिच्याउन थाले।
पाइलटले श्रीनगर एटीसीलाई जानकारी दिएर आपत्कालीन अवतरण गराए। अवतरणपछि फ्लाइटको अगाडिको भाग (नोज कोन) क्षतिग्रस्त भएको देखियो। सामाजिक सञ्जालमा फ्लाइटभित्रका भिडियोहरू सार्वजनिक भएका छन्, जहाँ मानिसहरू प्रार्थना गरिरहेका छन् र बच्चाहरू रोइरहेका छन्।
२२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी हमलामा २६ जनाको मृत्यु भएपछि भारत र पाकिस्तानबिचको सम्बन्ध तनावग्रस्त बनेको छ। २४ अप्रिलमा पाकिस्तानले भारतीय एयरलाइन्सहरूका लागि आफ्नो एयरस्पेस बन्द गर्यो र भारतले पनि पाकिस्तानका लागि आफ्ना आकाश मार्ग बन्द गरेको छ। एजेन्सी
