• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेपाल बैंकको सुरक्षागार्ड सुतिरहेकै कोठामा चोरी, बन्दुक पनि लिएर गए


  • धनकुटा खबर
  • .

सप्तरीमा नेपाल बैंकमा चोरी भएको छ।

गएराति १२:२० बजे सप्तरीको खडक नगरपालिका-७ कल्याणपुरमा रहेको उक्त बैंकको सुरक्षागार्ड सुत्ने कोठामा चोरी भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार सुरक्षा गार्डहरू भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र कन्चनरूपका ४४ वर्षीया पर्शुराम चौधरी सुत्ने कोठामा चोरी भएको हो।
डिएसपी बस्नेतका अनुसार चोरी हुँदा उनीहरू सोही कोठामा सुतिरहेका थिए।

दराजमा राखिएको १२ बोरको एकनाले बन्दुक र त्यसमा लाग्ने २० राउन्ड गोली, दुई थान मोबाइल, डिजिटल तराजु चोरिएको भनेर सुरक्षागार्डले नै प्रहरीलाई सूचना दिएका थिए।

घटनाको जानकारी पश्चात बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालयबाट टोली खटिएको थियो। प्रहरीले चोरको हुलियाबारे सप्तरीका अन्य प्रहरी कार्याल र छिमेकी जिल्ला प्रहरी कार्यालयलाई समेत जानकारी दिएको थियो।

डिएसपी बस्नेतका अनुसार बिहान ३:४५ बजे सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा सप्तरीकै खडक नगरपालिका-६ बिरपुरका २० वर्षीय अपसाद अन्सारी छन्।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान नगरपालिका-३ हस्पिटल चोकबाट उनलाई नियन्त्रणमा लिएको थियो। शंकास्पद लागेर सोधपुछ गर्दा बैंकमा चोरी गर्ने सोही व्यक्ति भएको पुष्टि भएको डिएसपी बस्नेतले बताएका छन्।

उनको साथबाट स्क्यानर दुई थान, दुई थान ल्यापटप, खुकुरी २ थान, १२ बोरको एकनाले बन्दुक, सिमकार्ड, २ थान घडी, ५ थान मोबाइल, १ थान मिनि स्पिकर, १ थान डिजिटल तराजु र उनी चढेको स ६ प ५४७३ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
हतियार भने बैंकबाट ५०० मिटर पर झाडीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको छ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षकको टोली खटी गई अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖