वासिङ्टन । एक यात्रुले उडानको क्रममा विमानको ढोका खोल्ने प्रयास गरेपछि टोकियोबाट टेक्सास जाँदै गरेको एक जापानी विमान आपत्कालीन अवतरण गर्न बाध्य भएको छ ।
अल निप्पन एयरवेज (एएनए) को फ्लाइट ११४ शनिबार टोकियोबाट उडान भरेको केही घण्टापछि एक यात्रुका कारण अमेरिकाको वासिङ्टन राज्यको सियाटलमा मोडिएको एयरलाइन्सले जनाएको छ। सियाटल प्रहरीका अनुसार एक पुरुष यात्रुले उडानको क्रममा आपत्कालीन ढोका खोल्ने प्रयास गरेका थिए।
उक्त व्यक्तिको पहिचान खुलाइएको छैन तर उनी ‘चिकित्सकीय सङ्कट’मा परेको र उनलाई अन्य यात्रु तथा विमान चालक दलले नियन्त्रणमा लिएको उल्लेख गरिएको छ । पछि उनलाई अस्पताल लगिएको थियो। उनीमाथि मुद्दा लाग्ने वा नलाग्ने भन्ने हाल प्रस्ट भइसकेको छैन।
यसअघि पनि यस्ता थुप्रै घटना भएका छन् । गत अप्रिलमा जेटस्टार एयरलाइन्सको इन्डोनेसियाको बालीबाट अस्ट्रेलियाको मेलबर्न जाँदै गरेको विमान यात्रुले ढोका खोल्ने प्रयास गरेपछि फर्कन बाध्य बनाइएको थियो।
त्यस्तै नोभेम्बर २०२३ मा, अमेरिकी एयरलाइन्सको उडानमा एक यात्रुले ढोका खोल्ने प्रयास गरेपछि अन्य यात्रुहरूले उनलाई टेपले बाँधेर नियन्त्रणमा लिएका थिए। नोभेम्बर २०२३ मै, एसियाना एयरलाइन्सको एउटा विमानमा एक यात्रुले विमान अवतरण हुनुअघि आपत्कालीन ढोका खोल्दा यात्रुहरूलाई सास फेर्न गाह्रो भई अस्पताल लगिएको थियो।
