• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

यात्रु ठग्ने इन ड्राइभ चालक कारबाहीमा, आठ सवारी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

पोखरा । यात्रुबाट मनोमानी भाडा असुल्न थालेपछि इन ड्राइभका चालकहरूमाथि कास्की प्रहरीले कारबाही थालेको छ। यात्रुहरूको गुनासोपछि खटिएको टोलीले आइतबार बेलुका विभिन्न स्थानबाट आठ वटा सवारीसहित चालकहरूलाई नियन्त्रणमा लिई कारबाही गरेको कास्की प्रहरी प्रवक्ता हरी बहादुर बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार ती चालकहरूलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरी छाडिएको हो। गुनासो थियो— एपमा देखिएको भन्दा दोब्बर भाडा माग गर्ने, पैसा बुझेर पनि ‘क्यास बटन’ थिच्न नमानेर ट्रिप बन्द नगर्ने, र केही केसमा ग्राहकसँग झगडासमेत गर्ने।

हालै मात्र गण्डकी प्रदेश सरकारले इन ड्राइभ, पठाओजस्ता राइड सेयरिङ सेवा र सेल्फ ड्राइभ व्यवसायलाई कानुनी मान्यता दिने नियमावली ल्याएको छ। यद्यपि, त्यसको विरोधमा परम्परागत यातायात व्यवसायीहरू आन्दोलनरत छन्।

प्रहरीको यो हस्तक्षेपले यात्रुहरूलाई राहत पुगेको भन्दै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया देखिएको छ। तर, इन ड्राइभजस्ता सेवा प्रदायक कम्पनीहरूले भने आफ्ना राइडरलाई सचेत गराउनुपर्ने र यात्रुहित सुनिश्चित गर्न निगरानी प्रणाली थप बलियो बनाउनुपर्ने मागसमेत सार्वजनिक रूपमा उठ्न थालेको छ।

यदि यो प्रवृत्तिमाथि समयमै नियन्त्रण लिन सकिएन भने, डिजिटल प्लेटफर्मको विश्वसनीयता गुम्ने मात्र होइन, यात्रु सुरक्षामाथि गम्भीर प्रश्न खडा हुने संकेत देखिन थालेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖