• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

चेकिङको क्रममा महिलामाथि प्रहरीले यसरी हातपात गरेपछि…


  • धनकुटा खबर
  • .

कैलाली । चेकिङको क्रममा महिलामाथि हातपात गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले दुई जना प्रहरी कर्मचारीमाथि छानबिन सुरु गरेको छ।

जेठ २३ गते बेलुका करिब ५:१५ बजे टीकापुर नगरपालिका–७ स्थित हुलाकी राजमार्ग खैरीपुर चेकपोष्टमा खटिएका प्रहरी कर्मचारीले चेकिङको क्रममा स्थानीय बासिन्दा २९ वर्षीया राजकुमारी कुवर शाहमाथि दुर्व्यवहार तथा हातपात गरेको आरोप लागेको छ।

शाहले इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन दर्ता गराउँदै घटनाबारे छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेकी हुन्। साथै, घटनाको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको भूमिका विवादित बनेको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी नायब उपरीक्षक राजकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। कार्यालयले उक्त घटनामा संलग्न प्रहरी कर्मचारीहरूलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रहरी प्रशासनले सत्यतथ्य पत्ता लगाई दोषी प्रमाणित भए कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖