• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

७ वर्षको उमेरमा हराएका बादल २२ वर्षपछि घर फर्किएपछि…!


  • धनकुटा खबर
  • .

गुल्मी। गुल्मीको इस्मा गाउँपालिका १, हर्पुकोटका २९ वर्षीय बादल कुँवरको कथा सुन्दा जो कोहीको मन छुन्छ। सात वर्षको उमेरमा काठमाडौँबाट बेपत्ता भएका बादल २२ वर्षपछि आफ्नो गुल्मी गाउँ फर्किएका छन्।

बादल सात वर्षको हुँदा उनका बुवा नेपाली सेनामा कार्यरत थिए । परिवारसँगै काठमाडौँमा बस्दै आएको उनी एकाएक हराए । उनको खोजीमा धेरै प्रयास भए, तर फेला परेनन् । इस्मा गाउँपालिका–१ का वडा अध्यक्ष शेरबहादुर कुँवरले बादलको परिवारले आशा नमारे पनि छोरा फेरि भेट्ने सम्भावना कम हुँदै गएको बताउँदै आएका थिए । तर २२ वर्षपछि बादल घर आएपछि खुसी छाएको उनले बताए ।

बादल हराए पनि परिवार आफ्नो ढङ्गले चलिरहेको थियो । बादलका बुवा सेनाको जागिर छाडेर नर्वे गए। उनकी आमा अम्बिका वैदेशिक रोजगारीका लागि साउदी अरब पुगिन्। यहि बिचमा बादल पनि फ्रान्स पुगेका थिए । फ्रान्समै बस्ने गुल्मीका छिमेकी प्रकाश बोहराले बादललाई भेटे। परिचयका क्रमले बादलको वास्तविक पहिचान खुल्यो। प्रकाशले तुरुन्तै बादलको परिवारसँग सम्पर्क गरे। सामाजिक सञ्जालमार्फत भिडियो कल सुरु भयो । टाढा रहेका बुबा आमाले हराएको छोरालाई स्क्रिनमा हेरे । उनीहरू भावुक भए ।

त्यसपछि प्रकाशले बादललाई नेपाल फिर्ता ल्याउने जिम्मा लिए । लामो समयपछि शुक्रबार (हिजो) साँझ बादल आफ्नो जन्मभूमि हर्पुकोट फर्किएका छन् । वडाध्यक्ष कुँवरले रातोपाटीसँग कुरा गर्दै भने, ‘२२, २३ वर्षपछि सामाजिक सञ्जालको माध्यमले जोडिएर बादल गाउँ फर्किएका छन् । यो चमत्कार जस्तै हो, बादलले आफ्ना बुवा आमालाई बिर्सिसकेका थिए, तर दाजु आकाशसँगको बाल्यकालको सम्झनाको स्मरण भने उनले स्थानीयवासी गरेका छन्।’

बादलका कुराले परिवारलाई थप भावुक बनायो। संयोगले, बादल घर फर्किएकै दिन कुँवर परिवारको कुल पूजा सुरु भएको थियो। स्थानीयवासीले यो पुनर्मिलनलाई पितृको आशीर्वाद र संयोग मानेका छन् । -रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖