• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

‘सिट ११ए’ का यात्रु जो विमान दुर्घटनामा बाँचे


  • धनकुटा खबर
  • .

काठमाडाैँ। बिहीबार दुर्घटनाग्रस्त एयर इन्डियाको फ्लाइटमा सवार आफन्तहरूको खोजीमा रहेका नातेदारहरू अहमदाबादको असारवा स्थित सिभिल अस्पतालमा हैरान छन्।

त्यही अस्पतालको सामान्य वार्डको एक ओछ्यानमा ४० वर्षीय विश्वास कुमार रमेश उपचाररत छन्, जसले आफू उक्त भीषण विमान दुर्घटनाबाट बाँच्न सफल भएको बताएका छन्।

‘टेकअफ भएको ३० सेकेन्डमै ठुलो आवाज आयो अनि विमान दुर्घटना भयो। सबै कुरा एक्कासी भयो,’ विश्वासले हिन्दुस्तान टाइम्सलाई बताए। उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ।

बेलायतको ग्याटविकतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमानमा चालक दलका सदस्यहरू सहित २४२ जना सवार थिए। विमान बिहीबार दिउँसो १ः३९ बजे उडेको थियो र केही मिनेटमै दुर्घटना भएको थियो।

एयर इन्डियाले जनाएको अनुसार ती २३० यात्रुमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानडेली नागरिक थिए।विश्वास बेलायती नागरिक हुन् । उनी केही दिनका लागि आफ्ना परिवारसँग भेट्न भारत आएका थिए र आफ्ना दाजु अजय कुमार रमेशसँगै बेलायत फर्किँदै थिए।

उनले अझै बोर्डिङ पास साथमै राखेका छन्। उनले हिन्दुस्तान टाइम्सलाई भने, ‘जब म उठेँ, मेरो वरिपरि शवहरू थिए। म डराएँ। म उठेँ र दौडिएँ। वरिपरि जहाजका टुक्राहरू थिए। कसैले मलाई समातेर एम्बुलेन्समा हाल्यो र अस्पताल ल्यायो।’

विश्वासले आफू २० वर्षदेखि लण्डनमा बस्दै आएको बताए। उनका पत्नी र सन्तान पनि लण्डनमै बस्छन्।विश्वासका अनुसार उनका दाजु अजय विमानको अर्कै पङ्क्तिमा बसेका थिए। ‘उहाँ मेरो साथमै यात्रा गर्दै हुनुहुन्थ्यो, तर अहिले म उहाँलाई फेला पार्न सकेको छैन। कृपया मलाई उहाँलाई खोज्न मद्दत गर्नुहोस्,’ विश्वासले भने।

अस्पतालको अन्य भागमा पनि एयर इन्डियाको विमानमा सवार यात्रुहरूको परिवार र साथीहरू आफन्तहरूको खोजीमा व्यस्त थिए। तीमध्ये गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीका आफन्तहरू पनि थिए, जो उक्त विमानमा सवार थिए। रुपाणीका पूर्व सहयोगी शैलेस मण्डलिया अस्पतालमा उनलाई खोज्दै थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖