• Monday 5th of October 2026

‘काँटा लगा’ फेम अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन


  • धनकुटा खबर
  • .

मुम्बई । चर्चित म्यूजिक भिडियो ‘काँटा लगा’ मार्फत रातारात स्टार बनेकी अभिनेत्री तथा मोडल शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार राति हृदयघात (कार्डियक अरेस्ट) का कारण उनको आकस्मिक निधन भएको हो ।

पति पराग त्यागीले तुरुन्तै मुम्बईको अंधेरीस्थित बेलेभ्यू मल्टिस्पेशलिटी अस्पताल पुर्‍याए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

शेफालीले सन् २००२ मा रिलिज भएको रिमिक्स गीत ‘काँटा लगा’ मा आफ्नो ग्ल्यामरस लुक्स र नृत्यले दर्शकहरूको मन जितेकी थिइन्। यो गीतले उनलाई ‘काँटा लगा गर्ल’ को उपनाम दिलाएको थियो र भारतीय पप संस्कृतिमा नयाँ युगको सुरुवात गरेको थियो। उनले सलमान खान र अक्षय कुमार अभिनीत फिल्म ‘मुझसे शादी करोगी’ मा सानो तर यादगार भूमिका निभाएकी थिइन्।

साथै, उनले ‘नच बलिए ५’ र ‘बिग बोस १३’ जस्ता रियालिटी शोहरूमा पनि सहभागिता जनाएकी थिइन्, जहाँ उनको जीवन्त व्यक्तित्व र मायालु व्यवहारले दर्शकहरूको मन जितेको थियो।

शेफालीको जन्म सन् १९८२ मा गुजरातको अहमदाबादमा भएको थियो। उनले सरदार पटेल कलेज अफ इन्जिनियरिङबाट सूचना प्रविधिमा मास्टर्स डिग्री हासिल गरेकी थिइन्। उनले सन् २००४ मा मिट ब्रदर्सका संगीतकार हरमित सिंहसँग विवाह गरेकी थिइन्, तर सन् २००९ मा उनीहरूको सम्बन्धविच्छेद भएको थियो। पछि, सन् २०१५ मा उनले अभिनेता पराग त्यागीसँग विवाह गरेकी थिइन्।

शेफालीले एक अन्तर्वार्तामा आफूलाई १५ वर्षको उमेरमा मिर्गीको समस्या भएको खुलासा गरेकी थिइन्, जसका कारण उनले तनाव र चिन्ताको सामना गर्नुपरेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖