• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

रुसले पक्रोभस्क नजिकै १ लाख १० हजार सेना परिचालन गर्‍यो, डोनेत्स्क कब्जाको रणनीति तीव्र


  • धनकुटा खबर
  • .

किभ । रुसले पूर्वी युक्रेनको रणनीतिक सहर पक्रोभस्क कब्जा गर्न तयारीस्वरूप करिब १ लाख १० हजार सैनिक तैनाथ गरेको युक्रेनी सेनाका प्रमुख ओलेक्सान्दर सिर्स्कीले शुक्रबार बताएका छन्। उनका अनुसार करिब १,२०० किलोमिटर लामो फ्रन्टलाइनमा अहिले सबैभन्दा ‘सक्रिय मोर्चा’ पक्रोभस्क वरपरकै क्षेत्र हो।

रुसी सेनाले यो सहर कब्जा गर्न लगभग एक वर्षदेखि निरन्तर आक्रमण गर्दै आएको छ। यद्यपि सैनिक संख्या र हतियारमा स्पष्ट रूपमा बलियो भए पनि रुसले अझैसम्म सहर हात पार्न सकेको छैन।

पक्रोभस्क मास्कोको लागि अत्यन्तै रणनीतिक लक्ष्य हो। राष्ट्रपति भ्लादिमिर पुटिनले डोनेत्स्क र लुहान्स्क क्षेत्रको पूर्ण नियन्त्रण आफ्नो लक्ष्य भएको स्पष्ट रूपमा बताइसकेका छन्। ती दुबै क्षेत्रहरूमा रुस आंशिक नियन्त्रणमा छ।

युक्रेन र उसका पश्चिमेली सहयोगीहरूले राष्ट्रपति पुटिनमाथि शान्तिवार्तालाई लम्ब्याउँदै थप युक्रेनी भूभाग कब्जा गर्ने योजना बनाएको आरोप लगाउँदै आएका छन्।

पक्रोभस्क ठूला सहरमध्ये नपरे पनि, उक्त सहर एक महत्त्वपूर्ण आपूर्ति मार्ग र रेलमार्गमा अवस्थित छ, जसले क्षेत्रका अन्य सैन्य केन्द्रहरूसँग सम्बन्ध बनाइराखेको छ।

कोस्ट्यान्टिनिभ्का, क्रामाटोर्स्क र स्लोभियान्स्कसँगै पक्रोभस्क डोनेत्स्क क्षेत्रमा किभको नियन्त्रणमा रहेका युक्रेनी रक्षा संरचनाको मेरुदण्ड मानिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖