• Monday 5th of October 2026

सायद विदेशमा बस्ने केटासँग विवाह गर्दिनँ होला


  • धनकुटा खबर
  • .

सामाजिक सञ्जाल अहिले चर्चित गायिका एलिना चौहानका स्टेटस र अन्तरवार्ताले भरिएको छ। केही समयदेखि उनलाई गालीगलौज र अभद्र सन्देश गर्नेहरूमाथि उनले कडा प्रतिक्रिया दिइरहेकी छिन्। एलिनाले ती व्यक्तिहरूको स्क्रिनसट सार्वजनिक मात्र गरेनन्, प्रहरीको साइबर ब्युरोमा उजुरीसमेत दिइन्। उजुरीकै आधारमा एक जना पक्राउ परिसकेको छ।

यहीबिच, एलिना मिडिया अन्तरवार्तामा सक्रिय छिन्। पत्रकार ऋषि धमलालाई दिएकी एउटा भावुक अन्तरवार्तामा उनले श्रीमानसँगको सम्बन्धबिच्छेदपछि भोगेको पीडाको खुलासा गरेकी हुन्।उनले भनिन्:“मलाई जिउनै गाह्रो भयो। मर्नुभन्दा बहुलाउनु निको भनेर सम्बन्धविच्छेद गरेँ।”

एलिनाले गत वर्ष वैशाख ५ गते अष्ट्रेलिया निवासी प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी थिइन्। पारिवारिक असहमति हुँदाहुँदै पनि उनी आफैंले आँशु र आग्रहले परिवारलाई विवाहमा राजी गराएकी थिइन्।

तर अब त्यो निर्णय जीवनकै ठूलो गल्ती भएको उनले खुलेर स्वीकार गरेकी छिन्।”मैले साँचो माया गरेकी थिएँ, तर त्यो सम्बन्ध टिक्न सकेन,” उनी भन्छिन्।

सम्बन्धबिच्छेदको दोष उनी आफैंमा लगाउँदै भनिन्:”मैले उहाँको विश्वास जित्न सकिनँ, त्यसैले छुट्टिनु पर्‍यो।”

धमलासँगको कुराकानीमा एलिनाले अर्को विवाह वा प्रेमको विषयमा पनि खुलेर प्रतिक्रिया दिइन्।”अहिलेसम्म कोही छैन। तर अब पहिलाजस्तो मर्नु पर्ने माया गर्दिनँ,” उनले भनिन्।

अब उनी इज्जत गर्ने र आफ्नो करिअर बुझ्ने केटासँग मात्र सम्बन्ध अगाडि बढाउने सोचमा छिन्।”सायद विदेशमा बस्ने केटासँग विवाह गर्दिनँ होला,” उनले थपिन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖