ढाका । बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको बंगलादेशको अन्तर सेवा जनसम्पर्क निर्देशनालय (आईएसपीआर) ले मंगलबार पुष्टि गरेको छ। मंगलबार दिउँसो जारी गरिएको प्रेस विज्ञप्तिमा आईएसपीआरले विभिन्न अस्पतालमा उपचाररत तथा मृतकहरूको विवरण सार्वजनिक गरेको हो।
यसअघि मंगलबार बिहान इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरी मा आयोजित पत्रकार सम्मेलनमा बंगलादेशका प्रमुख सल्लाहकारका विशेष सहायक डा. सयेदुर रहमानले मृतकमध्ये २५ जना बालबालिका, एक पाइलट र एक शिक्षक रहेको जानकारी दिएका थिए।
दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ। बंगलादेश वायुसेनाको एफ-७बीजीआई प्रशिक्षण विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेज क्याम्पसमा दुर्घटनाग्रस्त भएको थियो।
आईएसपीआरले जानकारी गरेको विज्ञप्ति अनुसार विमान उडेको केही समयपछि नै प्राविधिक गडबडी देखिएको थियो । यो विमान दुर्घटनापछि बंगलादेशको अन्तरिम सरकारले एक दिनको शोकको घोषणा गरेको छ।
