• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

किन परे जहाज ल्याण्ड गर्नेबित्तिकै ककपिटबाटै पाइलट पक्राउ


  • धनकुटा खबर
  • .

अमेरिकाको सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा जहाज ल्याण्ड गर्नेबित्तिकै त्यसको पाइलट पक्राउ परेका छन्।
घटना गत शनिबारको हो।

स्थानीय समयअनुसार राति ९:३५ बजे मिनियापोलिसबाट आएको डेल्टा एयरलाइन्सको फ्लाइट २८०९ सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

जहाज अवतरण गर्नेबित्तिक १० जना सुरक्षाकर्मीहरूले विमानभित्रै गएर पाइलटलाई ककपिटबाटै पक्राउ गरेको हो।

अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार पक्राउ पर्ने पाइलट ३४ वर्षीय रस्टम भागवर हुन्। सो जहाजमा उनी सहपाइलटको भूमिकामा थिए।

विभिन्न सरकारी एजेन्सीका पोशाक लगाएका १० जना सुरक्षाकर्मीले भागवरलाई ककपिटमै हतकडी लगाएका थिए। उनलाई यात्रुहरूकै अगाडिबाट जहाजबाहिर निकालिएको थियो।

क्यालिफोर्नियाको कन्ट्रा कोस्टा काउन्टीका अनुसार भागवरमाथि २४ वटा गम्भीर आपराधिक मुद्दा लगाइएको छ। तीमध्ये १० वर्षभन्दा कम उमेरकी बालिकासँग यौन सम्पर्क राखेको, बालिकामाथि जबर्जस्ती यौन आक्रमण र दुर्व्यवहार गरेको आरोपसँग सम्बन्धित मुद्दा छन्।

सोही घटनामा ४५ वर्षीया जेनिफर पावेल नाम गरेकी महिला पनि पक्राउ परेकी छन्। उनीमाथि पनि कोस्टा काउन्टीभित्र बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा २४ वटै मुद्दा लगाइएको सरकारी वकिललाई उद्धृत गरेर न्यूयोर्क टाइम्सले लेखेको छ।

शनिबार पक्राउ परेका दुवैलाई मार्टिनेज डिटेन्सन सेन्टरमा राखिएको थियो।
अदालतले भगवागरसँग १ करोड ५० लाख डलर धरौटी मागेको छ। अभियोग प्रमाणित भएमा दुवै जनालाई १५ वर्षदेखि आजीवन कैद सजाय हुन सक्ने न्यूयोर्क टाइम्सले जनाएको छ।

कन्ट्रा कोस्टा काउन्टी शेरिफ विभागका अनुसार भगवागरमाथि गत अप्रिलदेखि अनुसन्धान चलिरहेको थियो। पर्याप्त प्रमाण जुटेपछि उनलाई जिल्ला वकिलको कार्यालय र होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन (एचएसआइ) को सहयोगमा विमानबाटै समातिएको थियो।

डेल्टा एयरलाइन्सले पनि पाइलटमाथिको आरोप सुनेर स्तब्ध भएको बताएको छ।

‘हामी यस्तो गम्भीर आरोप सुनेर स्तब्ध छौं। ती पाइलटलाई तत्काल निलम्बन गरिएको छ। डेल्टा अवैध गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्छ,’ डेल्टा एयरलाइन्सले विज्ञप्तीमा भनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖