नयाँ दिल्ली । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले पाकिस्तानसँग निकट भविष्यमा पुनः युद्ध हुन सक्ने गम्भीर आशंका व्यक्त गरेका छन् ।
उनले आगामी युद्धका लागि तयार रहनुपर्ने र यो लडाइँ एकजुट भएर लड्नुपर्नेमा जोड दिएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
शनिबार आईआईटी मद्रासमा आयोजित एक कार्यक्रममा जनरल द्विवेदीले भने, ‘अर्को युद्ध चाँडै हुन सक्छ । हामीले सोहीअनुसार तयारी गर्नुपर्छ र यस पटक हामीले यो लडाइँ मिलेर लड्नुपर्नेछ ।’
आफ्नो भनाइलाई पुष्टि गर्न हालैका सैन्य कारबाहीबारे जानकारी दिँदै उनले भने, ‘२५ अप्रिलमा हामीले उत्तरी कमानको भ्रमण गर्यौँ । यहाँ अपरेसनको योजना बनायौँ, जसमा हामीले ९ मध्ये ७ आतंकवादी अखडा नष्ट गर्यौँ र त्यसमा धेरै आतंककारी पनि मारिए ।’
उनले २९ अप्रिलमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटको पनि उल्लेख गरे । एक सफल सैन्य अपरेसनले राष्ट्रिय एकतालाई कसरी बलियो बनाउँछ भन्नेबारे चर्चा गर्दै उनले भने, ‘यो महत्त्वपूर्ण छ कि कसरी अपरेसन सिन्दुरजस्तो एउटा सानो नामले पूरै देशलाई जोड्छ । यो एउटा यस्तो कुरा थियो, जसले सारा देशलाई प्रेरित गर्यो । त्यसैले गर्दा सारा देशले भनिरहेको थियो कि तपाईंहरूले यसलाई किन रोक्नुभयो ? यो प्रश्न सोधिएको थियो र यसको भरपूर जवाफ दिइएको छ।’
