• Monday 5th of October 2026

‘मेरी बास्सै’ मा निर्देशकको जिम्मेवारीसहित फर्किए राजु मास्टर


  • धनकुटा खबर
  • .

टेलिभिजन सिरियलका चर्चित कलाकार तथा निर्देशक राजु पौडेल (राजु मास्टर) ‘मेरी बास्सै’ मा फर्किएका छन्।

झण्डै दुई दशकको यात्रा पूरा गर्ने तयारीमा रहेको हास्य सिरियल ‘मेरी बास्सै’ मा राजु लेखक र निर्देशनको जिम्मेवारीसहित फर्किएका हुन्। उनले सिरियलमा अभिनय समेत गर्नेछन्।

राजुले यो सिरियलको लेखन, निर्देशनसँगै अभिनयको काम थालिसकेका छन्। भदौ ३ गते उनी जोडिएपछिको पहिलो एपिसोड प्रसारणमा आउनेछ।
मिडिया हबको प्रस्तुति रहेको ‘मेरी बास्सै’ बाटै राजुले कलाकारिता यात्रा सुरू गरेका थिए। १२ वर्षसम्म निरन्तर यो सिरियलमा अभिनय गरेका राजुले बिचमा ६ वर्ष अन्य सिरियलमा काम गरे। आफैले सिरियल ल्याए।
अहिले पुनः ‘मेरी बास्सै’ मा फर्किन पाउँदा खुसी र जिम्मेवारी महसुस भइरहेको उनले बताए।

‘मेरी बास्सै मेरो घर हो, आफ्नै घरमा फर्किन पाउँदा खुसी लागेको छ। यहि ठाउँले मलाई कलाकारिता सिकायो, आज यहाँसम्म आउन सक्नु भनेकै मेरी बास्सैको देन हो,’ राजुले भने, ‘अहिले लेखन र निर्देशनको पनि जिम्मेवारी लिएर फर्किएको छु। त्यसैले चुनौति महसुस गरेको छु।’
राजुले ‘मेरी बास्सै’ बाट बाहिरिएपछि ‘हल्का रमाइलो’, ‘जुठे’ लगायतका सिरियलमा काम गरे। अहिले आफ्नै लेखन, निर्देशन, अभिनय र निर्माणमा ‘सकस’ सिरियल ल्याइरहेका छन्।

‘सकस छाडेर मेरी बास्सैमा फर्किएको होइन। सकस निरन्तर नै आउनेछ,’ उनले भने।

उनले ‘मेरी बास्सै’ को ९२३ भागबाट राजुले जिम्मेवारी सम्हालेका हुन्। उनका अनुसार उक्त एपिसोडमा नयाँ कथाबाट सिरियल अगाडि बढ्नेछ। राजुले भने, ‘हामीले चार भाग छायांकन गरिसकेका छौं। चलिरहेको भन्दा नयाँ कथा, नयाँ फ्लेवरमा सिरियल अगाडि बढ्नेछ।’

राजुले ‘मेरी बास्सै’ मा ६ वर्ष अघिको आफ्नो परिवार लिएर फर्किएको जानकारी दिए। उनीसहित मास्टर्नीको भूमिकामा अनिता बस्नेत, सालीको भूमिकामा सबिना आचार्य (सबु) पनि छन्।

यसअघि अभिनय गर्दै आएका धेरै कलाकारहरूको निरन्तरता रहनेछ। सिरियलमा कलाकारहरू रामचन्द्र अधिकारी (गोफ्ते काजी), सुरवीर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी), निरू खड्का (निर्मली), दिपेन्द्र तिमल्सिना (बालक), साया भण्डारी (राधिका), मुकेश हमाल (सुन्दरे), यादव थापा (ब्याज प्रसाद)लगायत कलाकारहरू छन्।

सिरियलको छायांकारमा घनश्याम पोखरेल र ज्ञान कुमार कट्टेल छन् भने रविन्द्र भट्ट र अशोक चौधरीले सम्पादन गर्नेछन्। ब्यवस्थापनको जिम्मेवारीमा उज्जवल खड्का रहेका छन्।

‘मेरी बास्सै’ प्रत्येक मंगलबार साँझ नेपाल टेलिभिजन र मिडिया हव अफिसियल युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖