काठमाडौँ । भारतका सुपरस्टार रजनीकान्त अभिनित फिल्म कुली अगस्ट १४ मा सिनेमाघरहरूमा रिलिज हुँदैछ । तर त्योभन्दा पहिले नै उनका फ्यानहरुमा यस फिल्मको क्रेज देखिएको छ ।भारतको चेन्नईमा पहिलो दिन, पहिलो शो (फर्स्ट डे फर्स्ट शो) को टिकट कालो बजारमा ४५ सयसम्म बिक्री भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
पहिलो दिन फिल्मले अग्रिम बुकिङमा विश्वभर ८५ करोडभन्दा बढीको कलेक्सन गरेको बताइएको बेला टिकटको कालोबजारी भएको विषय बाहिर आएको हो ।लोकेश कनागराजको फिल्म कुलीलाई लिएर फ्यानहरू धेरै उत्साहित छन्, जुन तमिल, हिन्दी, तेलुगु र कन्नड भाषाहरूमा रिलिज हुँदैछ । यद्यपि, यस्तो उत्साहले ठूलो मात्रामा कालो बजारको लागि पनि बाटो खोलेको छ, जहाँ धेरै सिंगल-स्क्रिन थिएटर र फ्यान क्लबहरूले तमिलनाडु सरकारको नियमहरूको उल्लङ्घन गर्दै बढी मूल्यमा टिकट बेचिरहेको आरोप छ ।
७४ बर्षिय रजनीकान्तको कुलीको पहिलो शो हेर्न ६ सयदेखि ४५ सयसम्म टिकट बिक्रि भएको बताइएको छ । उनको फिल्मको रिलिजको अवसरमा ब्ल्याक बजारले पनि उत्सव मनाएको छ ।
डब गरिएको संस्करणको टिकटको मूल्य तमिलनाडुमा मात्र नभई अन्य राज्यहरूमा पनि बढेको बताइएको छ ।
यसैबीच भारतको चेन्नई, बैंगलोर,लगायत ७-८ शहरमा कार्यालय रहेको युनो अक्वा केयर कम्पनिले रजनीकान्तको कुलीको पहिलो शो हेर्न कमर्चारीलाई बिदा दिएको छ । साथै कम्पनीले आफ्ना सबै शाखाका कर्मचारीलाई बिदा मात्र होइन फ्री टिकट समेत व्यवस्था गरेको विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
ऋतिक रोशन र जुनियर एनटीआरको फिल्म वार-२ सँग एकै दिन रिलिज हुन लागेको कुली अग्रिम बुकिंग र फ्यानहरुको क्रेजको हिसाबले धेरै अगाडी देखिएको छ ।
