• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

स्थायी शान्ति सम्झौताका लागि युक्रेनमाथि दबाब बढाउँदै ट्रम्प, जेलेन्स्की चिन्तित


  • धनकुटा खबर
  • .

कीएभ । युक्रेनका राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले रुसले युद्धविराम गर्न अस्वीकार गरेकोले युद्ध अन्त्य गर्ने प्रयास थप जटिल बनेको बताएका छन्।

‘हामीले देखिरहेका छौँ, रुसले पटक–पटक गरिएको युद्धविरामको आह्वानलाई अस्वीकार गर्दै आएको छ र कतिबेला हत्या रोक्छ भन्ने अझै निर्णय गरेको छैन। यसले स्थिति जटिल बनाएको छ,‘ उनले एक्समा जारी वक्तव्यमा भने।

सोमबार जेलेन्स्की वासिङ्टन डीसी जानेछन्, जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई शान्ति सम्झौतामा सहमत गराउन आग्रह गर्ने बताएका छन्।

ट्रम्पले हालै राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर बैठकपछि युद्धविरामभन्दा सीधा स्थायी शान्ति सम्झौतामा जान चाहेको बताएका छन्। उनले ट्रुथ सोसलमा लेख्दै यसलाई ‘रुस–युक्रेनबिचको भयानक युद्ध अन्त्य गर्ने सबैभन्दा राम्रो उपाय’ भन्दै युद्धविराम प्रायः ‘नटिक्ने’ भनेका छन्।

शिखर बैठकपछि ट्रम्पसँगको फोन वार्तामा जेलेन्स्कीले ‘साँचो, दिगो शान्ति’ को माग गर्दै ‘गोलीबारी रोक्नैपर्ने’ भनेका थिए। उनले पछिल्लो वक्तव्यमा दिगो शान्तिका लागि आवश्यक सर्तहरू प्रस्तुत गर्दै ‘विश्वसनीय सुरक्षा ग्यारेन्टी’ र ‘कब्जा गरिएका क्षेत्रबाट अपहरण गरिएका बालबालिकाको फिर्ती’ को माग गरेका छन्।

ट्रम्पको ताजा अभिव्यक्तिले उनको पूर्वधारणा भन्दा ठुलो मोड ल्याएको देखिन्छ। किनभने उनले शिखर बैठकअघि मात्र ‘छिटो युद्धविराम’ चाहेको बताएका थिए। युक्रेनले पनि प्राथमिकता युद्धविराममा नै दिने गरेको छ।

तर, रिपोर्टअनुसार पुटिनले ट्रम्पलाई दिएको प्रस्तावमा युक्रेनले डोनेट्स्क क्षेत्रबाट फिर्ता हुनुपर्ने र त्यस बदलामा रुसले जापोरिज्जिया र खेरसोनमा अग्रपंक्ति स्थिर पार्ने बताए।

रुसले २०१४ मा क्राइमिया कब्जा गरेको थियो र आठ वर्षपछि पूर्ण आक्रमण थालेको हो। हाल रुसले लुहान्स्कमा नियन्त्रण जमाएको छ भने डोनेट्स्कको करिब ७०% भाग आफ्नो कब्जामा राखेको छ।

ट्रम्पले अघिल्ला अभिव्यक्तिहरूमा ‘केही भूभाग साटासाट’ सहितको सम्झौता हुनसक्ने बताएका थिए। शिखर बैठकपछि उनले सो प्रस्ताव जेलेन्स्कीलाई पनि सुनाएको बताइन्छ।

तर केही दिनअघि मात्रै जेलेन्स्कीले डोनबास (लुहान्स्क र डोनेट्स्क) त्याग्न अस्वीकार गर्दै त्यसले भविष्यमा रुसलाई फेरि आक्रमण गर्न बाटो खोल्ने बताएका थिए।

सीबीएसका अनुसार, युरोपेली कूटनीतिज्ञहरूले ट्रम्पले जेलेन्स्कीलाई पुटिनसँग छलफल गरेका सर्तहरूमा सहमत हुन दबाब दिन सक्ने चिन्ता व्यक्त गरेका छन्। ट्रम्पले युरोपेली नेताहरूसँगको फोन वार्तामा ‘पुटिनले केही सम्झौता गर्ने’ बताएको भए पनि त्यसबारे स्पष्ट खुलासा गरेका छैनन्।

फक्स न्युज सँगको अन्तर्वार्तामा जब ट्रम्पसँग जेलेन्स्कीलाई दिने सल्लाहबारे सोधियो, उनले भने: ‘सम्झौता गर। रुस ठुलो शक्ति हो, उनीहरू होइनन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖