• Monday 5th of October 2026

सैफ अली खानको कुल सम्पत्ति १,२०० करोड नाघ्यो, पटौदी दरबार मात्रै ८०० करोड मूल्यको


  • धनकुटा खबर
  • .

काठमाडौँ – बलिउडका बहुप्रशंसित अभिनेता सैफ अली खानको कुल सम्पत्ति अहिले १,२०० करोड रुपैयाँभन्दा माथि पुगेको अनुमान गरिएको छ।

अभिनय क्षमतामा खारिएका यी कलाकार केवल बलिउडमा मात्र होइन, भारतको ऐतिहासिक शाही वंशमा समेत विशेष स्थान राख्छन्। सन् २०११ मा आफ्ना बुबा मन्सूर अली खानको निधनपछि उनी पटौदी राजघरानाका दशौं नवाबको रूपमा राज्याभिषिक्त भएका थिए।

हरियाणाको पटौदीमा अवस्थित ऐतिहासिक दरबारको मूल्य मात्रै लगभग ८०० करोड रुपैयाँ रहेको बताइएको छ। साथै, ब्रान्ड विज्ञापन, फिल्म पारिश्रमिक र अन्य व्यापारिक स्रोतहरूबाट समेत सैफले उल्लेखनीय आम्दानी गर्दै आएका छन्।

ई–टाइम्सका अनुसार, सैफ अली खानले हरेक फिल्मका लागि १० देखि १५ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन् भने विज्ञापनहरूबाट १ देखि ५ करोड रुपैयाँसम्म कमाउँछन्। यस्तै, करीना कपूर खानसँगको वैवाहिक सम्बन्धले सैफलाई बलिउडको सबैभन्दा धनी जोडीमध्ये एक बनाएको छ। करीनाको व्यक्तिगत सम्पत्ति करिब ४८५ करोड रुपैयाँ रहेको छ।

२५ वर्षभन्दा लामो समयदेखि फिल्म उद्योगमा सक्रिय सैफ अली खानले फरक–फरक भूमिकामार्फत दर्शकको मन जित्दै आएका छन्। उनको करियरको टर्निङ प्वाइन्ट २००१ को ‘दिल चाहता है’ रहेको थियो। त्यसपछि ‘हम तुम’, ‘ओमकारा’, ‘लव आज कल’ र ‘तानाजी: द अनसंग वारियर’ जस्ता फिल्महरूले सैफको बहुआयामी अभिनय क्षमतालाई उजागर गर्‍यो।

२००४ मा ‘हम तुम’ का लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए। साथै, उनलाई भारत सरकारले पद्मश्री पुरस्कारले पनि सम्मानित गरिसकेको छ।

सैफ अली खानले आजसम्म आफ्नो शाही पृष्ठभूमिको प्रचार नगरी आफ्नै प्रतिभाको भरमा बलिउडमा सशक्त पहिचान बनाएका छन्। अब भने शाही सम्पत्तिको मूल्य र आफ्नो बलिउड करियरको कमाइले सैफलाई भारतका सर्वाधिक धनी कलाकारहरूमध्ये एक बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖