काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालमा शापुको संक्रमणबाट संक्रमण हुने संख्या बढ्दै गएको छ। विशेषगरी बालबालिकामा लाग्ने शापु डरलाग्दो हो।
यो किटाणु कुन माध्यमबाट आँखाभित्र संक्रमण हुन्छ भन्ने कुराको यकिन नभए तापनि रातको समयमा बत्तीमा आउने एक किसिमको सेतो पुतली (मथ)बाट संक्रमण हुने पुष्टि भएको छ।
शापु एक दृष्टिनाशक रोग हो । प्राय वर्षायामपछि भदौदेखि मंसिरसम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापु महामारीको रूपमा देखिने गरेको छ । यो रोगको लक्षणहरू देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ ।
शापू के कारणले लाग्छ ?
हालसम्म सेतो पुतली (मोथ) लाई शापूको कारक मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ ।
शापु रोगका लक्षणहरू के के हुन् ?
–एक्कासी एउटा आँखा रातो हुनु
–चिप्रा नलाग्नु
–उज्यालोमा हेर्न नसक्नु
–आँखाको दृष्टिमा तत्कालै कमी हनु
–आँखा दुख्नु
–उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु
शापूको रोकथाम कसरी गर्ने
–सेतो पुतलीको संसर्गबाट टाढै रहने
–धेरै उज्यालो सेतो बत्ती नबाल्ने
– साँझ र राती झ्याल ढोका बन्द गर्ने
–सम्भव भएसम्म अयाल ढोकामा जाली हाल्ने
–आफूखुसी औषधि वा जडिबुटिको प्रयोग नगर्ने
