• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सैन्य परेडमा सहभागी हुन किम बख्तरबन्द रेलमार्फत चीन प्रस्थान


  • धनकुटा खबर
  • .

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उन चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्, जहाँ उनी बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुनेछन्।

यो अवसरले किमलाई चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य विश्व नेताहरूसँग भेट गर्ने अवसर दिनेछ।

दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार किमले मंगलबार आफ्नो बख्तरबन्द रेलमार्फत चीन प्रवेश गरेका हुन्। सुरक्षा व्यवस्थाका कारण रेल ढिलो गतिमा यात्रा गर्ने भएकाले बीजिङ पुग्न करिब २४ घण्टा लाग्ने अनुमान छ।

किमको यस पटकको सहभागिता सन् १९५९ पछि पहिलोपटक कुनै उत्तर कोरियाली नेताले चिनियाँ सैन्य परेडमा उपस्थिति जनाएको हो। यसपटकको कार्यक्रममा म्यानमार, इरान, क्युबासहितका २६ राष्ट्रप्रमुखहरू सहभागी हुनेछन्।

यसअघि २०१५ को विजय दिवस परेडमा उत्तर कोरियाले उच्च अधिकारी छोए रयोङ-हेलाई पठाएको थियो। किम जोङ उन भने सन् २०१९ मा चीन–उत्तर कोरिया कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका क्रममा अन्तिमपटक बेइजिङ गएका थिए।

किमको रेलयात्रा परम्परा उनका हजुरबा किम इल सुंगले सुरु गरेका थिए। उनका पिता किम जोङ इलले पनि विमान यात्राप्रति डर भएकाले बख्तरबन्द रेलमै प्रायः विदेश भ्रमण गर्ने गर्थे। दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार किमको हालको रेलमा करिब ९० वटा डब्बा छन्, जसमा बैठक कक्ष, शयनकक्ष र अतिथि सत्कार कक्षसम्म समावेश छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖