काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनको बेइजिङमा बुधबार भेटवार्ता भयो ।
पुटिनसँगको भेटवार्ता सकेर नेता किम उठेलगत्तै उत्तर कोरियाली कर्मचारीको व्यवहारले भने अहिले चर्चा पाइरहेको छ ।
किमसँगै बेइजिङ आएका उनका सहयोगीहरूले किमले छोएका हरेक वस्तु पुछेर सफा गरे । उनीहरू किमले छोएका सोफा, कुर्सीदेखि गिलासम्ममा टिस्यू पेपर रगडेर स्यानिटाइज गरिरहेको देखिन्थे ।
कुनै आपराधिक स्थलमा प्रमाण नष्ट गर्न खोजिएको जस्तो देखिने दृश्यको चर्चा भइरहेको हो ।
बेइजिङ भ्रमणमा किमले छोएका हरेक वस्तुमा उनका सहयोगीले निगरानी गरिरहेका देखिन्थे र किम उठे लगत्तै त्यसलाई मेट्न पुछपाछ गरिहाल्थे ।
सुरुमा टेलिग्राममा सार्वजनिक भएको उक्त भिडियो अहिले अन्य सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ । भिडियोमा नेता किमका सहयोगीले कुसीको पछाडि पट्टिको भाग मज्जैले स्यानिटाइजयुक्त टिस्यूले पुछे ।
अर्का कोरियाली कर्मचारी भने किमले छोएको गिलासलाई ट्रे मा राखेर कुनै प्रयोगशालामा जसरी सफाइ गरिरहेका देखिन्थे ।
