काठमाडौं । राजनीतिक वृत्तमा नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहेका बेला, नेपाली सांगीतिक क्षेत्रका चर्चित अनुहार राजेश पायल राईले अनपेक्षित रूपमा दुई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी आफूलाई दिन माग गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि छलफल तीव्र बनाइरहेकै बेला गायक राईले सामाजिक सञ्जाल फेसबुकमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परराष्ट्र मन्त्रालयको बागडोर सम्हाल्ने इच्छा व्यक्त गरेका हुन् ।
बिहीबार राति अबेर फेसबुकमा एक पोस्ट गर्दै राईले #GEN_Z लाई सम्बोधन गर्दै लेखेका छन्, “जेन–जेड भाईहरू मलाई सञ्चार र विदेश (परराष्ट्र) मन्त्रालय सम्हाल्न दिनुस् प्रधानमन्त्री मागेको छैन किनकि म सञ्चार र पर्यटन प्रोत्साहन गर्न सक्छु ।”
उनले आफ्नो दाबीलाई अझ बलियो बनाउँदै भनेका छन्, “यदी म भन्दा धेरै विदेश कोही पुगेको प्रमाण ल्याउनु मेरो PASPORT र तिम्रो Pasport Check गरू यो मेरो दाबा हो, मलाई थाहा छ पर्यटन र संगीतको विकास ! ओट गर्ने हो भने असम्भव कहिँ छैन #genz #GenZVoices।”
उनको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र यसले विभिन्न टिकाटिप्पणीहरू निम्त्याएको छ ।
कतिपयले यसलाई राईको हास्यचेत र राजनीतिक व्यंग्यका रूपमा लिएका छन् भने कतिपयले उनले साच्चिकै राजनीतिक महत्त्वाकांक्षा पालेको रूपमा अर्थ्याएका छन् । विशेषगरी ‘जेन–जेड’ लाई सम्बोधन गर्दै उनले युवा पुस्तालाई आफूलाई साथ दिन आह्वान गरेको देखिन्छ ।
राजेश पायल राई नेपाली संगीत क्षेत्रका एक स्थापित नाम हुन् । उनका गीतहरू निकै लोकप्रिय छन् र उनले देशविदेशमा थुप्रै सांगीतिक प्रस्तुतिहरू दिइसकेका छन् । उनले आफ्नो यात्राबाट पर्यटन प्रवर्द्धन गर्न सक्ने र सञ्चार माध्यमको सदुपयोग गरी देशको विकासमा योगदान पुर्याउन सक्ने दाबी गरेका छन् ।
