• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

तमिलनाडुमा थलापति विजयको चुनावी भेलामा भागदौड, ३६ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

तमिलनाडु राज्यको करूरमा शनिबार साँझ भएको चुनावी भेलामा भागदौड मच्चिँदा कम्तीमा ३६ जनाको ज्यान गएको पुष्टि भएको छ। सो घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख प्रकट गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘तमिलनाडुको करूरमा राजनीतिक र्‍यालीका क्रममा भएको दुर्भाग्यपूर्ण घटना अत्यन्त दुःखद छ । मेरा संवेदनाहरू आफ्ना प्रियजन गुमाएका परिवारहरूसँग छन् । घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

रक्षा मन्त्री राजनाथ सिंहले पनि आधिकारिक एक्स पोस्टमार्फत शोक प्रकट गर्दै भनेका छन्, ‘निर्दोष नागरिकहरूको ज्यान जानु हृदयविदारक छ । शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु र घाइतेहरू छिट्टै निको होऊन् भन्ने प्रार्थना गर्दछु ।’

त्यसैगरी, तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले करूरबाट आएको खबर गम्भीर रहेको भन्दै तत्काल स्वास्थ्य उपचारका लागि अधिकारीलाई निर्देशन दिएका छन् । उनले पूर्व मन्त्री वी. सेनथिलबालाजी, जिल्ला प्रशासक, र त्रिची जिल्लाका मन्त्रीलाई आपतकालीन सहयोग उपलब्ध गराउन आदेश दिएका छन् ।

स्टालिनले भनेका छन्, ‘मैले त्यहाँका एडीजीपीसँग पनि कुरा गरेको छु । म जनतालाई चिकित्सक र प्रहरीसँग सहकार्य गर्न आग्रह गर्दछु ।’

विपक्षी नेता ए.के. पलानीस्वामीले तमिलगा वेत्री कझगम (टीभीके) पार्टीको चुनावी सभामा भएको भागदौड अत्यन्त दु:खद् भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘ज्यान गुमाएका परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछु । म तमिलनाडु सरकारसँग मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचार सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गर्दछु ।’

प्रत्यक्षदर्शीहरूका अनुसार साँझ करिब ७:२० बजे शुरू भएको थलापति विजयको सभामा अचानक विद्युत् आपूर्ति बन्द भएपछि भागदौड मच्चिएको थियो ।

हजारौंको भीडबीच भागदौड मच्चिँदा बालबालिका र वृद्धसहित धेरैजना मारिएका र घाइते भएको बताइएको छ । धेरै घाइतेको अवस्था गम्भीर रहेको र उद्धार टोली तथा वरिष्ठ अधिकारीहरू घटनास्थल पुगेको जानकारी सार्वजनिक भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖