काठमाडौ । दशैं नजिकिँदै गर्दा बजारमा कोकाकोलाजस्ता चिसा पेय पदार्थको खपत झन् बढ्ने गरेको छ। रमाइलो, भेटघाट र भोजभतेरमा प्रायः मानिसहरूले एकै सासमा बोतल खोल्ने गर्छन्। तर विज्ञहरूले भने यसरी कोक पिउनु फाइदा होइन, बरु स्वास्थ्यको लागि ठूलो खतरा भएको चेतावनी दिएका छन्।
अमेरिकाको मिशिगन विश्वविद्यालयका शोधकर्ताहरूले तयार पारेको हेल्थ न्यूट्रिशनल इनडेक्स अनुसार, एक गिलास कोकजस्तो सोडा पिउँदा मान्छेको स्वस्थ जीवनबाट झन्डै १२ मिनेट घट्छ। यसै अध्ययनमा भुटेका दाना, बदामजस्ता खानाले उल्टै २५ मिनेट जीवन थप्ने निष्कर्ष निकालिएको छ।
यति मात्र होइन, विश्व स्वास्थ्य संगठन (WHO) ले हालै सार्वजनिक गरेको रिपोर्टले पनि कोकमा प्रयोग हुने कृत्रिम मिठास (Aspartame) क्यान्सरको जोखिम बढाउने ठहर गरेको छ। कोकको ६ सय एमएल बोतलमा झन्डै २० चम्चा बराबर चिनी हुन्छ, जुन WHO को सिफारिस गरिएको दैनिक सुरक्षित मात्रा भन्दा निकै माथि हो।
विशेषज्ञहरूका अनुसार कोकको अत्यधिक सेवनले मोटोपना, मधुमेह, कलेजो रोग, मुटु सम्बन्धी समस्या र क्यान्सरसम्म निम्त्याउन सक्छ। १२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि त कोक हानिकारक मात्र नभई खतरनाक रहेको कम्पनीले नै स्वीकार गरिसकेको छ।
दशैंजस्तो ठूलो पर्वमा आफन्त भेट्दा खुशी साट्ने संस्कार राम्रो हो, तर खुशी साट्ने नाममा रोग बाँड्ने काम नगर्न विज्ञहरूको आग्रह छ। बरु कोकको सट्टा स्वच्छ पानी, मौसमी फलफूल वा स्वस्थ पेय पदार्थ पिउन र पिलाउन विज्ञहरूले सुझाएका छन्।
“Coke is not a joke” भन्ने चेतावनीलाई हल्का रुपमा नलिन विशेषज्ञहरूको अनुरोध छ। दशैंमा रमाइलो गर्नुहोस् तर स्वास्थ्य बिगार्ने चिसा पेय होइन, जीवन थप्ने विकल्प रोज्नुहोस्।
