काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित ला गार्डिया एयरपोर्टमा बुधबार ट्याक्सीवेमा दुईवटा विमान आपसमा ठोक्किएका छन् । दुवै विमान डेल्टा एयरलाइन्सको सहायक कम्पनी एन्डेभर एयरद्वारा सञ्चालित थिए । दुर्घटनामा एक यात्री घाइते भएका छन् ।
दुर्घटनापछि दुवै विमानका यात्रुहरूलाई तल झारेर बसमार्फत टर्मिनलसम्म पुर्याइएको थियो । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, यो घटना राति ९ः५८ बजे भएको हो ।
अधिकारीहरूका अनुसार, एउटा विमान अवतरणपछि गेटतर्फ गइरहेको थियो । त्यही बेला उडानको तयारीमा रहेको अर्को विमानसँग ठोक्किएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो र तस्बिरहरूमा एउटा विमानको पखेटा पूर्णरूपमा भाँचिएको देखिन्छ । घाइते यात्रुलाई उपचारका लागि अस्पताल लगिएको छ । दुवै विमान बम्बार्डियर सीआरजे–९०० मोडेलका थिए ।
कसरी भयो दुर्घटना ?
डेल्टा एयरलाइन्सका अनुसार, कम गतिमा भएको यो टक्कर एन्डेभर एयरका दुई उडानबीच भएको हो ।
उडान–५०४७ नर्थ क्यारोलिनाको शार्लोटबाट आएको थियो । उडान–५१५५ भर्जिनियाको रोआनोकका लागि उड्ने तयारीमा थियो ।
प्रारम्भिक जानकारीअनुसार, उडान–५१५५ को एउटा पखेटा उडान–५०४७ को शरीरमा ठोक्किएको देखिएको छ ।
एक फ्लाइट अटेन्डेन्ट सामान्यरूपमा घाइते भएका थिए । उनलाई घटनास्थलमै प्राथमिक उपचार दिएपछि अस्पताल पठाइएको थियो ।
उडान–५१५५ मा ३२ जना (२८ यात्री र ४ क्रू सदस्य) सवार थिए । उडान–५०४७ मा ६१ जना (५७ यात्री र ४ क्रू सदस्य) सवार थिए ।
उडान–५०४७ मा सवार एक पत्रकारले टक्करपछि अर्को विमानको भाँचिएको पखेटाको भिडियो मोबाइलमा रेकर्ड गरेका थिए । भिडियोमा फ्लाइट पाइलटले इन्टरकममार्फत यात्रुहरूलाई भनेको सुन्न सकिन्छ, “यस्तो लाग्छ कि कुनै विमान हामीसँग ठोक्कियो ।”
हालसम्म टक्करको कारण पत्ता लाग्न सकेको छैन । विमानस्थल प्रशासनले भने यस घटनाले एयरपोर्टको बाँकी सञ्चालनमा कुनै असर नपरेको जनाएको छ ।
दुवै विमानका यात्रुहरूलाई सुरक्षितरूपमा तल झारेर सटल बसमार्फत टर्मिनलसम्म पुर्याइएको थियो । एयरलाइनले आवश्यक यात्रुहरूका लागि होटलमा बस्ने व्यवस्था गरेको र बिहीबार नयाँ उडानको व्यवस्था मिलाइएको जनाएको छ ।
