पेरिस । सार्वजनिक स्थानमा मानिसहरूलाई नक्कली सिरिन्जले घोपेको नाटक गर्दै भिडियो बनाउने एक फ्रेन्च टिकटकर अदालतको आदेशअनुसार ६ महिना जेल बस्नुपर्ने भएको छ ।
सामाजिक सञ्जालमा ‘अमिन मोजिटो’ नामले चर्चित २७ वर्षीय इलान एमले पेरिसका सडकहरूमा अनजान व्यक्तिहरूमाथि सिरिन्ज प्र्याङ्क गर्दै भिडियो बनाउँथे । यस्ता भिडियोहरू भाइरल भइरहँदा उनीविरुद्ध हतियार प्रयोग गरेर गरिने हिंसा गरेको अभियोग लगाइएको थियो ।
आफूले इन्टरनेटमा स्पेन र पोर्चुगलमा देखेका भिडियोहरूलाई नक्कल गर्ने कोसिस गरेको उनले स्वीकारेका छन् । यसले मान्छेलाई चोट पुर्याउला भन्ने नसोचेको बरु आफ्नोबारे मात्रै सोचेको उनले अदालतमा बताएका छन् । अभियोजकहरूले अदालतमा देखाएका केही भिडियोमा यो प्र्याङ्कमा मानिसहरू निकै डराएको देखिएको थियो । केहीलाई मानसिक स्वास्थ्य मूल्याङ्कनका लागि अस्पताल समेत लैजानु पर्यो । एक पीडितले यो प्र्याङलाई भयानक सपनाको संज्ञा दिएका थिए ।
इलानका प्र्याङकहरूले जनमानसमा डरको वातावरण सिर्जना गरेको र यसले अनावश्यक रूपमा आक्रमणलाई प्रोत्साहन गरेको आरोप अभियोजन पक्षले लगाएको छ । सामाजिक सञ्जालमा भाइरल हुनका लागि गरिएका यस्ता गतिविधिहरू स्वीकार्य नहुने बताउँदै अदालतले इलानलाई १२ महिनाको जेल सजाय सुनाएको छ । यसमध्ये ६ महिना उनले जेलमै बिताउनु पर्नेछ । बाँकी ६ महिना निलम्बित हुनेछ ।
इलानका वकिलले अदालतसँग क्षमाशील हुन आग्रह गर्दा न्यायाधीशले उनको व्यवहारलाई गम्भीर रूपमा लिएको स्पष्ट संकेत दिएका थिए ।
